अक्टोबर क्रान्तिलाई सम्झनु उचित छ – स्वनाम साथी

१५ मंसिर ०७५, काठमाडौँ । अक्टोबर क्रान्ति शतवार्षिकी समारोह समिति नेपालले अक्टोबर क्रान्तिको स्मरणमा एक कार्यक्रमको आयोजना गरेर ‘विशेष उत्सव’ मनाएको छ ।

अक्टोबर क्रान्तिले एक शताब्दी पार गरेको सन्दर्भ पारेर समितिले शनिबार काठमाडौंमा कार्यक्रम आयोजना गरी विशेष उत्सव मनाएको हो ।

समितिका संयोजक स्वनाम साथीले अक्टोबर क्रान्तिको स्मरण गर्दै ‘विशेष उत्सव’ मनाइएको जानकारी दिए ।

इनारको पानी खाने मानिसले इनार खन्नेलाई सम्झनु पर्नेमा जोड दिँदै स्वनाम साथीले भने, ‘शासक र शासित हुनु हुँदैन भन्ने महान् लक्ष्य बोकेको अक्टोबर क्रान्तिलाई सम्झनु र त्यसको शतवार्षिकी मनाउनु उचित छ ।’

उनले सडकमा कम्युनिष्ट, सदनमा कम्युनिष्ट, सरकारमा कम्युनिष्ट अनि जंगलमा कम्युनिष्ट हुने तर जनताले कम्युनिष्टको नै खोजी गर्ने दिन आउन दिन नहुने बताए ।

यसैगरी जनकलाकारहरुले दुई तिहाईको कम्युनिष्ट सरकार भए पनि आधारभूत जनताले परिवर्तनको कुनै अनुभूति गर्न नसकेको भन्दै पञ्चायतविरुद्ध गाइएको गीत परिवर्तित सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक हुनु दुखद् रहेको बताए ।

जनकलाकार जेबी टुहुरे, रामेश, रायन, मणि थापा, प्रदिप बम्जन, झञ्कार, केशरी घर्ती लगायतले  गीत–संगीत र नृत्यले कार्यक्रमलाई विशेष उत्सव नै बनाइ दिएका थिए ।

उक्त कार्यक्रममा समारोह समितिले २० जना कम्युनिष्ट अग्रजहरुलाई सम्मान पनि गरेको छ ।

सय वर्ष अघि तत्कालिन रुसमा चलेको जुलियस सिजरको पालादेखिको क्यालेण्डरको १९१७ अक्टोबर २५ र नयाँ पोप ग्रेगोरियनको पात्रोअनुसार नोभेम्बर ७ मा रुसको पेट्रोग्राद शहर (हालको सेन्ट पिटर्सवर्ग)मा गरिखाने जनताले शासकविरुद्ध जनक्रान्तिको आँधि सृजना गरेका थिए ।

‘युद्ध होइन, क्रान्ति, जनताविरुद्ध होइन, शोषणविरुद्ध हतियार’ भन्दै जनता स्वतःस्फूत क्रान्तिमा होमिए, त्यही क्रान्तिको आँधिले तत्कालीन सत्ता अन्त्य भई जनसत्ता स्थापना भएको थियो । जसलाई विश्वभर ‘अक्टोबर क्रान्ति’का नामले चिनिन्छ ।

तपाइको मत