अखण्ड भारतको नक्साबारे बुझ्न दूतावासलाई सरकारको निर्देशन

५ असार ०८०, काठमाडौं । नेपाल सरकारले अखण्ड भारतको नक्साबारे बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ ।

मंगलबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले दिल्लीस्थित नेपाली दूतावासलाई वास्तविकता बुझेर रिपोर्ट निर्देशन दिएको बताएका हुन् ।

समितिको बैठकमा सांसदहरुले परराष्ट्रमन्त्री एनपी साउदलाई अखण्ड भारतको नक्साबारे किन नबोलेको भनेर प्रश्न गरेका थिए ।

जवाफमा मन्त्री साउदले भने, ‘हामीले यस विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउनु हुन नयाँदिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन गरिसकेको यो समितिलाई स्पष्ट गर्न चाहन्छु ।’

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा मन्त्री साउदले यो नक्साबारे आफूलाई थाहा नभएको भनेर प्रतिक्रिया दिएको विषयमा पनि विवाद भएको थियो ।

यस्तै उनले नेपालको नक्साबारे संविधान नै सर्वसम्मत रुपमा संशोधन गरेर अनुसूचीमा समावेश गरिसकेको भन्दै आफ्नै नक्सा विवादास्पद बनाइराख्न र नक्साबारे धारणा के हो भनेर सोधिराख्नु नपर्ने बताए ।