२५ असोज ०७७, काठमाडौं । सत्तारुढ दल निकट अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुफ–जिफन्ट एकताको अन्तिम तयारीमा जुटेको छ ।
महासंघका केन्द्रीय अध्यक्ष जगत सिम्खडाले आफूहरु अन्टुफ–जिफन्ट एकता सम्पन्न गर्न अन्तिम तयारीमा जुटेको जानकारी दिएका हुन् ।
अन्टुफ गण्डकी प्रदेशको शनिबार बसेको बैठकपछि अध्यक्ष सिम्खडाले महासंघ प्रदेश, पेशगत संगठन र परिषद साथै जिल्ला समितिहरुको बैठक बसेर अन्टुफ–जिफन्ट एकताका सम्पूर्ण तयारीमा जुटेको जानकारी दिँदै श्रम ऐनको दफा १४५ संशोधन गर्न र सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा दवाव सिर्जना गर्न सँगसँगै संघर्षको तयारीमा जुटेको पनि बताए ।
“अन्टुफ–जिफन्ट एकताका लागि अन्तिम तयारीस्वरुप सबै प्रदेश, पेशा र जिल्ला महासंघहरुको बैठक बसिररहेका छौं, अन्टुफ एकताका लागि पूर्ण तयारीमा रहेको छ,” अध्यक्ष सिम्खडाले भने, “साथसाथै बैठकले कोभिड–१९ लाई कारण बनाएर मजदुर निश्कासन गर्ने र सामाजिक सुरक्षा कार्यान्वयन नगर्ने औधोगिक प्रतिष्ठानहरूविरुद्ध कोरोना प्रभाव न्यून भएसँगै सशक्त संघर्ष गर्ने निर्णय पनि लिएको छ ।”
अन्टुफ–जिफन्ट एकताको तयारी लागि अखिल नेपाल ट्रेड युनियन महासंघको बागमती प्रदेश बैठक असोज १३ गते, सुदूरपश्चिम प्रदेशको बैठक असोज १६ गते, प्रदेश ५ को बैठक असोज १७ गते, कर्णाली प्रदेशको बैठक असोज १८ गते, सेवा सम्बद्ध परिषदको बैठक असोज २१ (बिहान र दिउँसो), उद्योग र निर्माण परिषद्को बैठक असोज २२ गते (बिहान र दिउँसो), यातायात सम्बद्ध परिषद्को बैठक असोज २३ गते साथै गण्डकी प्रदेशको बैठक असोज २४ गते बसिसकेको छ ।
यस्तै महासंघ प्रदेश १ को बैठक असोज २६ गते र प्रदेश २ को बैठक असोज २७ गते बस्दैछ ।
अन्टुफले आफ्ना विभिन्न समितिहरुको बैठकमार्फत् “अन्टुफ–जिफन्ट” एकताको पूर्ण तयारी गर्दै संगठन र सदस्यताको विवरण अद्यावधिक गरिसकेको छ ।