१२ चैत्र ०७५, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक विरुद्ध घुस लिएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
मंगलबार बसेको अख्तियार दुरुपयोग आयोगको बैठकले पाठकविरुद्ध ७८ लाख रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर गर्ने निर्णय गरेसँगै मंगलबार नै मुद्दा दर्ता गरिएको हो ।
नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितता लुकाउनका लागि कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेले पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको सार्वजनिक भएसँगै पाठकले आयुक्त पदबाट राजिनामा दिएका थिए ।
उक्त मुद्दामा घुस दिएको आरोपमा नेपाल इन्जिनिरयरिङ कलेजका तत्कालीन अध्यक्ष न्यौपानेलाई पनि विपक्षी बनाइएको छ । तर अख्तियारले अनुसन्धानको क्रममा बयान लिएर छाडेका न्यौपाने भने फरार छन् ।