६ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतलाई घुस खुवाउन खोज्ने दुई जना १० लाख रुपैयाँसहित पक्राउ परेका छन् ।
आयोगले दरबारमार्गको शेर्पा मलस्थित रेड कार्पेट नामक रेष्टुरेन्टबाट बुद्ध एकेडेमी आवासीय माध्यामिक विद्यालय जोरपाटीका व्यवस्थापन समिति अध्यक्ष छिरिङ वाङ्देल शेर्पा र अखिल नेपाल हिमाली बौद्ध संघका अध्यक्ष सोनाम सिंह शेर्पालाई पक्राउ गरेको हो ।
उक्त विद्यालयमा विद्यार्थी भर्ना प्रक्रियादेखि नै आर्थिक अनियमितता हुने गरेको भन्दै उजुरी परेपछि केही समयदेखि आयोगले त्यसमाथि छानविन गर्दै आएको थियो ।
आर्थिक अनियमिततामा संलग्न पूर्वराज्यमन्त्री नरबहादुर बुढाथोकी भने फरार रहेको अख्तियारका अधिकारीले बताए । बुढाथोकी पञ्चायतकालमा आपूर्ति राज्यमन्त्री थिए । उनी समेत विद्यालय व्यवस्थापन समितिको आर्थिक अनियमिततामा संलग्न भएको अख्तियारको ठहर छ ।