अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउनु पर्ने माग संसदमा छलफल हुने

१६ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने डा.गोविन्द केसीको मागबारे संसदमा छलफल हुने भएको छ ।

अनसनरत समयमा डा. केसीका मागबारे संसदमा छलफल गर्नु पर्ने भन्दै सांसदहरु गगन थापा, धनराज गुरुङ र श्याम श्रेष्ठले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए ।

सभामुख ओनसरी घर्ती मगरले प्रस्तावक सांसदहरुसहित प्रमुख दलका प्रमुख सचेतकहरुसँग आइतवार सिंहदरबारमा गरेको छलफलमा प्रस्तावलाई प्रक्रियामा लैजाने सहमति भएको छ ।

सभामुखको च्याम्बरमा भएको छलफलमा प्रस्ताव तत्काल सांसदहरुको अध्ययनका लागि पिजन होलमा पठाउने र नयाँ सरकार आएपछि छलफलमा लैजाने सहमति भएको छ ।

यसबीचमा संसदीय कारवाही नयाँ सरकार गठनमा केन्द्रित हुने र सार्वजनिक महत्वको प्रस्तावमा जवाफ दिने सम्बन्धित मन्त्रीहरु पनि नहुने भएकाले नयाँ सरकार बनेपछि छलफल अघि बढ्ने भएको छ ।

तपाइको मत