१४ असोज ०७५, राजविराज । भाई बुहारी र मामासहित परिवारकै सदस्यबाट हत्या गरी कोशी पश्चिमी नहरको च्यानलमा गाडिएको बाबु छोरीको मृत शरीर अझै भेटिएको छैन ।
सम्पत्ति हत्याउनका लागि भाई पंचदेव, उनकी पत्नि प्रमिला र मामा चलितर मिलेर राजविराज नगरपालिका १५ मुसहर्नियाका सुर्यनारायण साह, उनकी श्रीमती वेचनीदेवी साह र २ वर्षिया छोरी प्रतिभा साहको गत २६ जेठमा हत्या गरेका थिए ।
सूर्यनारायणकी श्रीमती वेचनीदेवीको शव घटनाको ५ दिनपछि जेठ ३१ मा घर पछाडि रहेको सेफटी ट्यांकीमा सडेगलेको अवस्थामा फेला परेपनि सुर्यनारायण र उनकी छोरी प्रतिभाको शव भने तीन महिना नाघी सकेपनि अझै फेला पर्न सकेको छैन ।
हत्याका आरोपमा पक्राउ परेका सुर्यनारायणका भाई पञ्चदेव, उनका श्रीमति प्रमिला, प्रमिलाका भाई जिवछ, धर्मेन्द्र र सत्यनारायणलाई केरकार गर्दा अंशका लागि उनीहरुको हत्या गरी बाबु र छोरीको शव कोशी पश्चिमी नहरको च्यानलमा गाडिएको बयान दिएका थिए ।
पक्राउ परेका भाई पञ्चदेव सहितको वयानको आधारमा सुर्यनारायण र उहाँको २ वर्षिया छोरीको पनि हत्या गरी दुवैको शव कोशी पश्चिमी नहरको मुसहरनीया नजिक रहेको च्यानलमा गाडेको खुलेको थियो ।
सो खुलासा भएलगत्तै नहरमा अत्यधिक पानी रहेकाले बन्द गर्न लगाई प्रहरीको गोताखोर सहितको टोली खोजतलासका लागि परिचालन गरिएको थियो ।
डिएसपी भावेश रिमालले हत्या गरी शव गाडेकै दिन देखि लगातार एक हप्तासम्म निरन्तर वर्षा भएका कारण खोजी कार्य प्रभावित हुनुका साथै त्यति बेला वाढीसमेत आएकाले शव बगाएको आशंका व्यक्त गर्दैै भने खोजी कार्यलाई अझै निरन्तरता दिएका छौ तर अहिलेसम्म सफलता नमिलेकाले शव भेटिने सम्भावना भने न्युन बन्दै गएको बताए ।
हत्यामा संलग्न भनिएका मामा चलितर सहित अन्य ५ जना भने अझै फरार छन् ।