अन्टुफकाे नेतृत्व र कमिटीहरू मजदुरसँगै सडकमा

एसबी थापा/७ बैशाख ०७७, काठमाडौं । सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा ट्रेड युनियन र मजदुरहरूका बारेमा भ्रामक खबरहरू सम्प्रेषण भएको भन्दै अन्टुफ केन्द्रीय राहत तथा विपत व्यवस्थापन समितिले आपत्ति जनाएको छ ।

अन्टुफ उपाध्यक्ष समेत रहेका समितिका संयोजक जय कार्कीले अखिल नेपाल ट्रेड युनियन महसंघको नेतृत्व पंक्ति मात्रै नभएर सबै तहका कमिटीहरू आम श्रमजीवी मजदुरहरूसँगै सडकमै रहेर राहत तथा उद्दारमा खटिरहेको भन्दै मजदुरहरूलाई अफवाहको पछाडि नलाग्न सुझाएका छन् ।

उनले देशमा लकडाउन सुरुभएसँगै महासंघका फ्रयाक्सन इन्चार्ज, अध्यक्ष लगायत सिङ्गो नेतृत्वको टिम देशभर नै अलपत्र परेका मजदुरहरूलाई राहत, उद्दार तथा व्यवस्थापन गर्न र गन्तव्यमा पठाउने काममा स्थानीय तह, प्रहरी प्रशासन र स्थानीय महासंघको पहलमा काम गरिरहेको जानकारी दिए ।

महासंघको गतिविधिहरुमा कुनै पनि कमी नआएको भन्दै संयोजक कार्कीले भने, “राहत तथा व्यवस्थापनका लागि राष्ट्रियस्तरमा महासंघको इन्चार्ज, अध्यक्ष लगायत पदाधिकारीहरूको टिम, परिषद अध्यक्षहरु परिचालन भएका छन् । सातै प्रदेश र स्थानीय कमिटीले आ(आफ्नो भूगोलमा अलपत्र परेका मजदुरहरुलाई गन्तव्यमा र्पुयाउन पहल लिइरहेका छन भने राहत वितरण पनि गरिरहेका छन् ।”

उनले सामाजिक संजालमा एकाध घटनालाई उत्तेजक बनाई एउटै तस्बिरलाई गलत अर्थ दिने गरि प्रचार गरिएकोमा असन्तुष्टि समेत व्यक्त गरे ।

संयोजक कार्कीले श्रोत-साधनको सीमितताका कारण केही कमी कमजोरी भएको हुनसक्ने भन्दै मजदुरहरूलाई भ्रामक प्रचार र अफवाहबाट टाढै रहन आग्रहसहित समस्यामा परेका श्रमिकलाई महासंघको कुनै पनि तहका कमिटीको सम्पर्कमा रहन आग्रह गरेका छन् ।