२५ चैत ०७६, ललितपुर । अखिल नेपाल ट्रेड युनियन महासंघको विशेष पहल र नेपाल आयल निगमको सहयोगमा ललितपुरमा दैनिक ज्यालादारी गर्ने ३९ परिवारलाई राहत वितरण गरिएको छ ।
महासंघका केन्द्रीय सचिव सोम तामाङ र अखिल नेपाल पेट्रोलियम मजदुर संघका अध्यक्ष शीव पोखरेलको नेतृत्वमा नेपाल आयल निगम लिमिटेडको सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत ललितपुरको गार्मेन्ट उद्योगमा काम गर्ने मजदूर, गलैंचा उद्योगमा काम गर्ने, ढुवानी मजदुर, दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई राहत वितरण गरिएको हो ।
महासंघका केन्द्रीय सचिव सोम तामाङले दिएको जानकारीअनुसार एक जना बराबर १२ किलो चामलका दरले ३९ परिवारका १२७ सदस्यका लागि लागि ६७ बोरा चामल, एक जनाका लागि एक प्याकेटका दरले नुन कूल १२७ प्याकेट, दाल १२७ केजी, प्याज १२७ केजी, चिनी १२७ केजी, तेल १२७ लिटर वितरण गरिएको छ भने एकदिनका लागि ६ हजार लिटरका दरले ७ दिनका लागि ४२ हजार लिटर पानीको व्यवस्था गरिएको छ ।
यस्तै उनले फिनेल ५ लिटर र ३९ परिवारलाई ३९ सिलिण्डर ग्यास समेत वितरण गरिएको जानकारी दिए ।
दैनिक मजदुरी गर्ने श्रमिकहरुलाई वितरण गरिएको राहत कार्यक्रममा सहयोगी निकाय नेपाल आयल निगमका निर्देशक करुणा क्षेत्री, आधिकारिक ट्रेड युनियन नेपाल आयल निगमका अध्यक्ष गोपालचन्द्र राई, निगमकै कानुन उपप्रबन्धक ममता महर्जनको विशेष उपस्थिति रहेको थियो ।
यसैगरी राहत वितरण कार्यक्रममा अखिल नेपाल पेट्रोलियन मजदुर संघका केन्द्रीय सचिव राजकुमार महर्जन, अखिल नेपाल यातायात मजदुर संघका उपाध्यक्ष अशोक थापा, अस्थायी करार तथा ज्यालादारी मजदुरका पूर्व अध्यक्ष भूपाल रसाइली, महासंघ कार्यलयका सदस्य हेमन्त महर साथै धुर्व कोइरालाको पनि सहभागिता रहेको थियो ।