अन्टुफ अध्यक्ष सिम्खडालाई माथिको आदेश भन्दै खानतलासी, महासंघद्वारा खेद व्यक्त

८ माघ ०७७, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) अध्यक्ष जगत बहादुर सिम्खडालाई प्रहरीले माथिको आदेश भन्दै खानतलासी गरेको छ ।

नेकपाले भोलि शुक्रबार राजधानी काठमाडौंमा गर्न गइरहेको विरोध प्रदर्शन तथा सभाको व्यवस्थापकीय पाटोको मुख्य जिम्मेवारी सम्हालेका बागमती प्रदेश सांसद समेत रहेका अन्टुफ अध्यक्ष सिम्खडालाई प्रहरीको एक टोलीले ललितपुरको बालकुमारीमा करिब आधा घण्टा रोकेर खानतलासी गरेको हो ।

प्रतिनिधि सभा विघटनको विरोधमा माघ ९ गते हुने विशाल बिरोध प्रदर्शन तथा सभा कार्यक्रमको तयारीमा जुटिरहेका सिम्खडालाई प्रहरीले माथिको आदेश भन्दै आज साँझपख उनी सवार गाडीबाट उतारेर खानतलासी गरेको थियो ।

प्रहरीले खानतलासी गरेपछि जेटीयुसीसी र आइटीयुसी न्याकका समेत अध्यक्ष रहेका सिम्खडाले भनेका छन्, “ललितपुरको खरिबोटमा माथिको आदेश भन्दै प्रहरीले आधा घन्टा अपमानजनक तरिकाले मलाई गरेको व्यबहार निरंकुश फासिबादी अबतार हो भन्ने प्रस्ट हुन्छ यसप्रति खेद व्यक्त गर्दछु ।”

यस्तै उक्त घटनाका विषयमा अन्टुफ उपाध्यक्ष एसबी थापा मगरले अध्यक्ष सिम्खडा सवार गाडी रोकेर ओली प्रशासनले भर्त्सनायोग्य, खेदजनक कार्य गरेको बताएका छन् ।

उपाध्यक्ष थापामगरले  सो घटनालाई कथित माथिको आदेश भन्दै कामचलाउ सरकारका प्रधानमन्त्री खड्ग प्रसाद ओली प्रशासनले खानतलासी गरी माघ ९ को जनप्रदर्शन र विरोधसभालाई कमजोर बनाउन सकिन्छ कि भनेर दुस्साहस गरेको बताए ।

“संसार बदल्ने श्रमजीवी मजदुरहरुले ओलीगमनलाई झुकाउने छ, यदि यस्तै रवैया बढ्दै गए देशव्यापी प्रतिकारमा उत्रन बाध्य हुनेछौं, श्रमिकहरुसँग नजिस्क !” उपाध्यक्षले थापाले भने, “ओली प्रशासनले धरपकड र खानतलासी गरेर भोलि हुने जनप्रदर्शन र विरोध सभालाई कमजोर बनाउन सकिन्छ कि दुस्साहस नगरे हुन्छ ।”

पद र पैसा बाँडेर संगठन टिकाउने खेल खेलिरहेका षडयन्त्रकारीहरुले असंवैधानिक कदमको बचाउ गर्न नसकेपछि प्रहरी प्रशासनलाई नै दुरुपयोग गर्न थालेको सो घटनाले देखाएको उपाध्यक्ष थापाले आरोप लगाए ।

नेकपा (प्रचण्ड–माधव)को भोलि हुने कार्यक्रमलाई कमजोर बनाउन र उक्त विरोध सभामा जानबाट रोक्न र अल्मल्याउनकै लागि नेकपा (ओली समूह)ले पनि माघ ९ लक्षित गरेर राजधानीमा कार्यक्रम समेत राखेको भन्दै उनले प्रतिगमनविरोधी महासागरमा ओली समूहको सिमसिमे बाछिटाको कुनै अर्थ नहुने बताए ।