आगामी पौषमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय
१२ असोज ०७८, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय महिला कमिटीको बैठकले आगामी पौषमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।
मंगलबार महिला कमिटीकी अध्यक्ष एवम् महासंघका उपमहासचिव विष्णुकुमारी थापाको अध्यक्षता साथै अन्टुफ फ्याक्सन इन्चार्ज जयपुरी घर्तीको प्रमुख आतिथ्य र अध्यक्ष जगत सिम्खडाको विशेष आतिथ्यमा बसेको महिला कमिटीको बैठकले पौषमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।
बैठकपछि अन्टुफ केन्द्रीय महिला कमिटीकी अध्यक्ष थापाले भनिन्, “आज बसेको बैठकले ०७८ मंसिर मसान्तसम्म प्रदेश सम्मेलन र पौषमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।”
यस्तै महिला कमिटीकी सचिव निशा खरेलले आइएलओ अभिसन्धि १९० (हिंसा र दुर्व्यवहार)सम्बन्धी अभियानका साथै योगदानमा आधारित सामाजिक सुरक्षा, श्रम ऐनका बारेमा प्रशिक्षण चलाउने निर्णय बैठकले गरेको जानकारी दिइन् ।
अन्टुफ महिला कमिटीको उक्त बैठकमा महासंघका केन्द्रीय उपाध्यक्ष जय कार्की, धनबहादुर विक, उषा देवकोटा, एसबी थापा मगर, उपमहासचिव प्रकाश श्रेष्ठ, कोषाध्यक्ष घनश्याम ठकुरी, सचिव लालकुमारी पुनको आतिथ्य रहेको थियो ।