११ मंसिर ०७६, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ ललितपुर जिल्ला अध्यक्षमा लिला कुमार श्रेष्ठ चुनिएका छन् ।
बुधबार बसेको ललितपुर जिल्ला कमिटीको बैठकले कमिटी पुनर्गठन गरी श्रेष्ठलाई जिल्ला महासंघको नेतृत्वमा ल्याएको हो । श्रेष्ठ यस अघि जिल्ला उपाध्यक्ष थिए ।
मोरङको होटल, रेष्टूराँमा दाहाल
अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टूराँ मजदुर संघ मोरङ जिल्ला भेलाले प्रदीप दाहालको अध्यक्षतामा १५ सदस्यीय कमिटी घोषणा गरेको छ ।
संघको केन्द्रीय अध्यक्ष माधब पाण्डेको प्रमुख आतिथ्यतामा मंगलबार मोरङमा भएको जिल्ला भेलाले दाहालको नेतृत्वमा १५ सदस्यीय कमिटी घोषणा गरेको हो ।
चितवनको नेतृत्वमा आए महतो
यसैगरी अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टूराँ मजदुर संघ चितवनको नेतृत्वमा हठ्न महतो चयन भएका छन् ।
मंगलबार आयोजित कार्यक्रमबाट महतोको अध्यक्षतामा १३ सदस्य ईलाका कमिटी गठन भएको चितवनबाट भवानी शर्माले जानकारी दिइन् ।
सामाजिक सुरक्षासम्बन्धी जनचेतना कार्यक्रम
अखिल नेपाल ट्रेड युनियन महासंघ सम्बद्ध चितवनका मजदुरहरूले सामाजिक सुरक्षा कार्यान्वयन गर्न, गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।
बुधबार भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकमा व्यानर र पम्प्लेटिङ्ग गरी मजदुरहरूले सामाजिक सुरक्षा योजनाबारे सचेतना कार्यक्रम गरी सरकारको ध्यानाकर्षण गराएको हो ।
उनीहरूले रामपुर कृषि फार्म, गाई अनुसन्धान केन्द्र, भर्जिन फ्याक्ट्री, बोल्ड दरबार फ्याक्ट्री, कोकाकोला फ्याक्ट्री, बियर फ्याक्ट्री, चाउचाउ फ्याक्ट्री, ग्यास फ्याक्ट्री लगायत पूर्वि चितवन र पश्चिम चितवनका अधिकांश स्थानमा ब्यानर टाँगेर सामाजिक सुरक्षाका बारेमा जनचेतना गराउने काम गरेको अन्टुफ चितवन जिल्ला समितिले जनाएको छ । आज बुधबार अन्टुफ चितवनले बिहान ७ बजेदेखिसामाजिक सुरक्षा योजना तुरुन्त लागू गर ! श्रम ऐनको दफा १४५ खारेज गर ! मजदुर एकता जिन्दावाद लगायत नारा लगाएका थिए ।
यस कार्यक्रमलाई सफल पार्न अन्टुफ केन्द्रीय समितिका कावा अध्यक्ष जगत सिम्खडा र उपाध्यक्ष जय कार्की साथै प्रदेश अध्यक्ष पितम्बर गिरीसहितको चितवन जिल्ला बैठक यसै हप्ता चितवनमा बसेकाे थियो ।
यसैगरी अन्टुफ मकवानपुरले पनि भव्यताका साथ सामाजिक सुरक्षा दिवस मनाएको छ ।
बुधबार नै अन्टुफ मकवानपुरको आयोजनामा सामाजिक सुरक्षा दिवस एक कार्यक्रम गरी मनाइएको जिल्ला महासंघले जानकारी दिएको छ ।
महासंघकाअनुसार सामाजिक सुरक्षा योजना सम्पूर्ण श्रम क्षेत्रमा लागू गर ! मजदुरका जायज माग पूरा गर ! मजदुर आयोग तुरुन्त गठन गर ! श्रम ऐनको दफा १४५ लगायत मजदुर बिरोधी दफार खारेज गर ! जस्ता सन्देशमूलक नारासहित हेटौंडा औद्योगिक क्षेत्रमा कार्यक्रम सम्पन्न भएको हो ।

















