अन्टुफ–जिफन्ट एकताले पूर्णता पाउँदै !

काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष जय कार्कीले अन्टुफ–जिफन्ट एकताले छिट्टै पूर्णता पाउने बताएका छन् ।
 
बुधबार बागमती प्रदेशको बिस्तारित बैठकमा महासंघ प्रदेश इन्चार्ज समेत रहेका उपाध्यक्ष कार्कीले अन्टुफ–जिफन्ट एकता अब कसैले चाहेर नलम्बिने बताएका हुन् ।
 
उपाध्यक्ष कार्कीले अन्टुफ–जिफन्ट एकताका लागि प्रदेश मातहतका महासंघ र पेशागत कमिटीहरूको अद्यावधिक रिपोर्ट र तथ्याङ्क फागुन २० भित्र प्रदेश कार्यालयमा जम्मा गरिसक्न निर्देशन दिँदै सचिवालय बैठकको निर्णयअनुसार भएका प्रगतिको प्रशंसा गरेका छन् ।
 
उनले अर्को एक फरक प्रसङ्गमा नेपाली ट्रेड युनियनकर्मी र मजदुरहरूले मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) र नेपालको सीमाका सवालमा बोल्नु पर्ने बताएका छन् ।
नेपालको राष्ट्र हित विपरीत रहेको एमसीसी र भारतद्वारा अतिक्रमित भूमिका सवाल दिन प्रतिदिन पेचिलो बन्दै गएकाले राष्ट्रघाती, जनघाती सन्धि तथा सम्झौताहरूको खेलेर बिरोध गर्नुपर्ने उनले जोड दिए ।
 
महासंघको कार्यालय पेरिसडाँडामा महान् जनयुद्धका प्रथम सहिद दिल बहादुर रम्तेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सुरू भएको बैठकमा बागमती प्रदेश अन्तर्गतका रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुलीका जिल्ला महासंघ र पेशागत संगठनका अध्यक्षहरूले जिल्ला र स्थानीय तहका सांगठनिक रिपोर्टिङ प्रस्तुत गरेका थिए ।
 
बागमती प्रदेश अध्यक्ष पिताम्बर गिरीको अध्यक्षता साथै महासंघका केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश ३ इन्चार्ज जय कार्कीको प्रमुख आतिथ्यतामा बसेको बैठकमा महासंघका उपाध्यक्ष सोम बहादुर थापा, उपमहासचिव प्रकाश श्रेष्ठ र कोषाध्यक्ष घनश्याम ठकुरीको आतिथ्यता रहेको थियो ।