३२ जेठ ०७६, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघसम्बद्ध महिला कमिटी काठमाडौंले श्रमिक महिला अधिकार बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
शनिबार महासंघ कार्यालय कोटेश्वरमा बसेको महिला कमिटीको बैठकपछि काठमाडौं जिल्ला अध्यक्ष उमा थापाले सबै नगरहरूको तत्काल बैठक बसी श्रमिक महिलाहरूको हक, अधिकार बारेमा सचेतना कार्यक्रम गरिने बताएकी हुन् ।
औधोगिक प्रतिष्ठान र घरेलु श्रमिकका रुपमा कार्यरत महिलाहरूले अझैसम्म समान कामको समान ज्याला नपाएको, विभेद र हिंसा कायमै रहेको भन्दै अध्यक्ष थापाले भनिन्, ‘श्रमिक महिलाहरूको हक, अधिकार बारेमा अब हामी सबै नगर र वडाहरूसम्म पुगेर सचेतना कार्यक्रमहरू सञ्चालन गर्दैछौं ।’
श्रमिक महिलाहरूलाई न्यूनतम् बेतन, श्रम ऐन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा रहेका अधिकार बारेमा प्रशिक्षण सञ्चालन गरिने भन्दै उनले हाकाहाकी अनलाइनलाई संक्षिप्त प्रतिक्रिया दिँदै अधिकार प्राप्तिका लागि महिलाहरू आफैँ जागरुक नहुँदासम्म विभेद यथावत् रहने भएकाले सचेत र जागरुक हुनुपर्ने बताइन् ।
उमा थापाको अध्ययता बसेको महिला कमिटी बैठकमा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष एसबी थापा मगरको प्रमुख आतिथ्य रहेको थियो भने उपमहासचिव एवम् महिला कमिटी अध्यक्ष विष्णु थापा, महिला कमिटी प्रदेश नं. ३ का अध्यक्ष संगिता बानियाको आतिथ्य रहेको थियो ।
उक्त बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनवर्गीय संगठनको एकताका सन्दर्भमा गत जेठ ३ गते लिएको निर्णयलाई स्वागत गर्दै नवगठित ट्रेड युनियन महासंघ, नेपालका संयोजक विनोद श्रेष्ठ र सहसंयोजक जगत सिंखडालाई सफल कार्यकालको बधाई तथा शुभकामना समेत व्यक्त गरेको छ ।














