अन्तर्राष्ट्रियस्तरको फुटबल मैदान सैनिक मुख्यालय भद्रकालीमा, प्रधानसेनापति क्षत्रीद्वारा उद्घाटन

३० भदौ ०७४, काठमाडौं । नेपाल आर्मी क्लवले सैनिक मुख्यालय भद्रकालीमा अन्तर्राष्ट्रिय स्तरको एथ्लेटिक्स ट्रयाकसहितको फुटबल मैदान निर्माण सम्पन्न गरेको छ ।

शुक्रबार मैदानको उद्घाटन प्रधानसेनापति राजेन्द्र क्षत्रीले गरेका थिए । फुटबल मैदानमा पहिलो खेलका रुपमा प्रधानसेनापति ट्रफीको फाइनल अन्तर्गत १६ नम्बर बाहिनी र पश्चिम पृतनाबीच फुटबल खेलाइएको थियो ।

गत वर्ष मंसिर आठ गते शिलान्यास गरिएको रंगशालाको अन्तर्राष्ट्रिय स्तरको प्याराफिटसहितको रंगशाला नेपाल आर्मीले करिव १० महिनामा निर्माण सम्पन्न गरेको हो ।

१० लेनको एथ्लेटिक्स ट्र्याकमा अन्तर्राष्ट्रिय मान्यता र नियम अनुसारको सेन्थेटिक म्याट प्रयोग गरी निर्माण गरिएको सेनाका एथ्लेटिक्स प्रशिक्षक पुष्पराज ओझाले बताए ।  यस ट्र्याक पछिल्लो प्रविधि र इन्टरनेशनल एशोसियसन अफ एथ्लेटिक्स फेडेरेसन (आइएएफ)बाट मान्यताप्राप्त कम्पनीबाट झिकाइएको  ओझाले  बताए ।

 

त्यस्तै  आर्मीका प्रवक्ता झंकार कडायतले अखिल नेपाल फुटबल संघ एन्फाले प्रस्ताव गरेको खण्डमा अन्तर्राष्ट्रिय खेलका लागि रंगशाला उपलब्ध गराउन सकिने बताए । सेनाले अन्तर्राष्ट्रिय स्तरको फुटबल खेल आफ्नो मैदानमा खेलाउन सक्ने छ ।

स्रोतका अनुसार रंगशाला निर्माणमा १४ करोड खर्च लागेको छ । जसमध्ये एथ्लेटिक्स ट्र्याक निर्माणका लागि ८ करोड ६५ लाख र फुटबलमैदानका साथै रंगशाला बाउण्ड्रीका लागि ५ करोड ३५ लाख खर्च भएको छ । एथ्लेटिक्स ट्र्याकमात्रै ६ करोड मूल्य बराबरको छ ।

तपाइको मत