अमेरिकी सरकार भंग गर्नसक्ने ट्रम्पको चेतावनी
एरिजोना/एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एरिजोनाको फिनिक्समा ‘मेक अमेरिका ग्रेट अगेन’ र्यालीमा अमेरिकी सरकार भंग गर्नसक्ने चेतावनी दिएका छन् ।
ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउन अमेरिकी सरकार भंग गर्नसक्ने चेतावनी दिएका हुन् ।
‘गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने व्यक्तिहरूमाथि रोक लगाउनुपर्ने बेला आइसकेको छ । यो पर्खाल लगाउन कसैले बाधा पुर्याउँछ भने सरकार भंग गर्न परे पनि तयार छु, जसरी भए पनि पर्खाल बनाउँछु’ ट्रम्पले र्यालीलाई सम्बोधन गर्दै भनेका छन् ।
अवैध आप्रवासीलाई रोक्न पर्खाल
अवैध आप्रवासीलाई रोक्न मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने ट्रम्पको योजनामा डेमोक्र्याटिक सांसदहरूले विरोध गर्दै आएका छन् ।
डेमोक्र्याटिक सांसदहरूले यो पर्खाल बनाए अमेरिकी अर्थव्यवस्था प्रभावित हुने भन्दै विरोध जनाएका हुन् ।
तर, उक्त पर्खाल लगाउने विषय अवैध आप्रवासीलाई रोक्न ट्रम्पको चुनावी घोषणाको एक महत्वपूर्ण विषय हो ।
ट्रम्पले अवैध आप्रवासीलाई रोक्न करिब २७ खर्ब २२ अर्ब अमेरिकी डलर लाग्ने अनुमान गरिएको पर्खाल बनाउन आदेश समेत दिएका थिए ।
श्वेत सर्वोच्चता सम्बन्धी मार्चको विरोध
र्यालीलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले भर्जिनियामा निकालिएको ‘श्वेत सर्वोच्चता’सम्बन्धी मार्चको विरोध गरेका थिए । उनले सञ्चारमाध्यमले आफूलाई मुछेर बेइमानी गरेको बताए ।
ट्रम्पले भने, ‘बेइमान सञ्चारमाध्यम झूट र नभएको विषयलाई समाचार बनाउँछन् । कैयौं समाचारमा हुँदै नभएको सूत्र भनेर उल्लेख गर्छन् । अनि मनपरी लेख्छन् ।’