१५ असोज ०७५, काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत काभ्रेको साँगा–बनेपा सडकखण्डमा अतिक्रमण गरेर बनाइएका सयौँ घरटहरा भत्काउँन खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको छ ।
डिभिजन सडक कार्यालय भक्तपुरले अरनिको राजमार्गको दायाँबाया मापदण्ड मिचेर बनाएका घरटहरा, होर्डिङ बोर्ड हटाउन लाग्दा स्थानीयले अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको हो ।
राजमार्ग अतिक्रमण गरेर बनाइएका घर पसल भत्काउँदा साँगाका घर टहरा सञ्चालक स्थानीय र प्रहरीबीच झडप भएको जिल्ला प्रहरी काभ्रेले जनाएको छ । डिभिजन सडक कार्यलयले भदौ २८ गते घर टहरा हटाउन पन्ध्र दिने सूचना जारी गरेको थियो ।
सडक डिभिजनले अरनिको राजमार्गको साँगा चोकदेखि बनेपा चण्डेश्वरी खोलासम्म सडकको दायाँ बायाँ २५ गज सडक सिमानाभित्रका घर टहरा हटाउन सूचना जारी गरेको थियो भने स्थानीयले भने दसैंसम्म घरटहरा नहटाउन माग गर्दै अवरोध गरेका थिए ।
डिभिजन कार्यलयका अनुसार साँगा चोकदेखि बनेपा बजारसम्ममा मापदण्ड विपरीत बनेका एक सय ५६ घर भत्काउने जनाएको छ ।