अर्घाखाँचीको करापुकोट,  अबको पर्यटकीय गन्तव्य

रबिन्द्र प्रताप गुप्ता

Sitganga

२८ बैशाख ०७४, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका ५ मा अवस्थित करापुकोटलाई अबको पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा सरोकारवाला निकायले जोड दिएका छन् ।

जिल्लाको दक्षिणी भेगमा अवस्थित उक्त क्षेत्रमा रहेको प्राकृतिक सौन्दर्य, त्यहाँका धार्मिक स्थलहरु लगायतका कारणले उक्त क्षेत्र पर्यटकको लागि राम्रो सम्भावनाको रुपमा रहेको सरोकारहरुले बताएका हुन् ।

करापुकोटमा नवनिर्मित कालिका मन्दिरको उद्घाटन कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पुनर्निर्माण प्राधिकरणका उपसचिव डा.भीष्म कुमार भुषालले देशमा विद्यमान भ्रष्टाचारीको अन्त्य नहुँदासम्म कुनैपनि क्षेत्रको विकासले फडको मार्न नसक्ने बताए ।

उनले स्थानीयस्तरमा विकासको गतिलाई बढाउन विकट क्षेत्रबाट विकसित क्षेत्रतर्फ बसाईसराई नगरी विकट क्षेत्रलाई नै विकसित क्षेत्रको रुपमा विकास गर्न सकेमात्र देश विकास हुने समेत बताए ।

Sitganga1

उपसचिव भुषालले निर्वाचनमा उम्मेदवारी दिने जनताको प्रतिनिधिले राज्यको ढुकुटीबाट विकासको लागि प्राप्त रकम एक पैसा पनि हिनामिना नगरे मात्र विकासले फड्को मार्ने बताए ।

यसैगरी नेकपा (माओवादी केन्द्र)का नेता मणिराम अधिकारीले देशमा व्याप्त भ्रष्टाचारको अन्त्य गरी स्थानीय विकासमा सबै मिलेर लाग्नुपर्ने बताए ।

अधिकारीले अब संस्थाको बजेट खल्तीमा होइन्, खल्तीको बजेट संस्थामा हाल्न सक्ने व्यक्तिले स्थानीय स्तरको विकासमा जिम्मेवारी लिनुपर्ने बताए ।

त्यस्तै नेपाली कांग्रेसका नेता छविलाल पौडेलले जति आदर्शका कुरा गरेपनि स्थानीयस्तरको विकासमा नलागे अब देश विकास सम्भव नरहेको बताए ।

नेकपा एमालेका कृष्ण प्रसाद खनाल, स्थानीय अघुवा तथा समाजसेवीहरुको आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता मन्दिर निर्माण समितिका अध्यक्ष ईश्वरी प्रसाद बेल्बासेले गरेका थिए ।

तपाइको मत