२० असोज, काठमाडौं । विश्व चर्चित पत्रिका फोर्ब्सको अर्बपतिको सूचिमा परेका नेपाली ‘न्यूडल किङ’ भनिने विनोद चौधरी ग्रुपकै स्वामित्वमा रहेको सिजि टेलिकम्युनिकेशनमा काम गर्ने कामदारले विगत फागुन महिना देखि तलब नपाएपछि श्रम कार्यालयमामा मुद्दा दर्ता गरेका छन् ।
विश्वमै प्रतिष्ठित उद्योगिक समुह चौधरी ग्रुपका उत्पादनहरुले दक्षिण एशियाकै बजार कब्जा गरेको र विश्वमै प्रतिष्ठा कमाएको भए पनि चौधरी ग्रुप भित्र काम गर्ने मजदुरले भने सात महिनादेखि तलब नपाउनु लाजमर्दो उदाहरण हो ।
मजदुरलाई सिजि टेलिकम्युनिकेशनले तलब नदिएपछि श्रम कार्यालयले पत्र काटेर व्यवस्थापकलाई बोलाएको तर, व्यवस्थापन पक्ष कर्मचारीलाई तलब दिनु त परै जाओस् छलफलमा समेत सहभागी भएका छैनन् ।
सिजि टेलिकम्युनिकेशनका व्यवस्थापन पक्ष छलफलमा उपस्थित नभएपछि जवाफसहित पुन:वार्तामा आउन श्रम कार्यालयले पत्राचार गरेको छ । पारिश्रमिक नपाउने कर्मचारीहरुको उजुरीका आधारमा श्रम कार्यालयले सिजि टेलिकम्युनिकेशनलाई पत्र काटेको हो ।
मजदुरलाई तलब नदिएपछि अखिल नेपाल ट्रेड युनियन महासंघले आपत्ति जनाएको छ भने महासंघका उप-महासचिव निरज गोलेले अर्बपतिको सूचिमा परेका विनोद चौधरीकै भाइ अरुण चौधरी सञ्चालक रहेका सिजि टेलिकम्युनिकेशनले मजदुरमाथि अत्याचार गरेको बताउँदै मजदुरमाथि उत्पीडन गर्नेलाई कडा भन्दा कारवाही हुनुपर्ने बताएका छन् ।
ट्रेड युनियन महासंघका उप-महासचिव गोलेले तलब भत्ता नपाएका मजदूरले समयमै तलब नपाए आन्दोलनको हुरीले उत्पीडक मालिकलाई बढार्ने चेतावनी दिएका छन् ।