अविरल वर्षाका कारण देशैभरि बाढी, पहिरो र डुवानका कारण धनजनको क्षति

१८ असार ०७५, काठमाडौं । आइतबारदेखिको नियमित वर्षाका कारण बाढी पहिरोबाट जनधनको क्षति हुनाका साथै दक्षिणी पूर्वी क्षेत्र डुबानमा परेका छन् ।

वर्षाका कारण कैलालीको भजनी नगरपालिका लगायत एक सय बढी घरपरिवार विस्थापित हुनका साथै बर्षाले घर भत्किएर एक जनाको मृत्यु भएको छ ।

आइतबार राति गोदावरी नगरपालिका–९ की ६५ वर्षीया झुना रानाको मृत्यु भएको हो भने उनका श्रीमान् पुएरा राना घाइते भएका छन । उनको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

कैलालीको मध्य क्षेत्रमा बग्ने कान्द्रा, काँडा नदीमा आएको बाढीले भजनी नपरपालिका पुरै वडा प्रभावित भएका छन। भजनी–२, ५ र ६ मा पर्ने थापापुर र लालबोझीका एक सय बढी परिवार बिस्थापित भएका छन् ।

बाँकेमा बाढीले तीन जनाको मृत्यु

अविरल वर्षापछि आएको बाढीले बाँकेमा तीन जनाको मृत्यु भएको ।

सोमबार दिउँसो कोहलपुर नगरपालिका –४ गोहवाका ५ वर्षीय रन्जीत पासीको नालामा डुबेर, बैजनाथ गाउँपालिकास्थित जेठी नालामा आएको बाढीले बगाएर बैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुला बुढा र वडा नं ५ का ३५ वर्षीय लोकबहादुर सुनारको मृत्यु भएको हो ।

बुढा खोला तर्न खोज्दा बगेका थिए भने सुनार बाढीका बेला पौडी खेल्दा बगेर मृत्यु भएको हो । मृतक तीन जनाको शव फेला परिसकेको कोहलपुर प्रहरीले जनाएको छ ।

त्यस्तै बाढीका कारण नेपालगन्ज(गुलरिया हुलाकी सडकको खजुरामा अवरोध सृजना भएको छ । पेडारी नालामा आएको बाढी हुलाकी सडकको माथिबाट बग्न थालेपछि अवरोध भएको हो ।

बाढीले मोटरसाइकल बगाईरहँदा स्थानीयले उद्दार गरेर चालकको ज्यान जोगाएका छन् । वर्षाका कारण नेपालगन्ज जलमग्न भएको छ । नेपालगन्जको सेतु विक चोकमा पानी जमेर पोखरी बनेको छ ।

बाढीले नवलपरासीमा १७० घर डुबानमा

वर्षाका कारण नवलपरासीको बर्दघाट नगरपालिकाका ७० घर परिवार विस्थापित भएका छन् ।

बर्दघाट नगरपालिका ३ लगुनाहाको विसई टोलमा बाढीको कारण घरभित्रको अन्नपात, खाद्यान्न, लत्ताकपडा, हास, कुखुरासमेत बगाएको बडा नं. ३ का वडाअध्यक्ष रुद्रप्रसाद न्यौपानेले जानकारी दिए ।

डुवानमा परेकाहरुलाई इलाका प्रहरी कार्यालय बर्दघाटको टोली र सशस्त्र प्रहरी बल वेसक्याम्प सेमरीको टोलीले उद्दार गरी अग्लो ठाउँमा रहेको महिला समूहको भवनमा राखिएको छ ।

बाढीको कारण के कत्ति क्षति भयो भन्ने यकिन तथ्यांक आइनसकेकोे इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।

त्यस्तै, पूर्वी नवलपरासीको कावासोती, दलदले, अरुणखोला, चोरमाराबाट पहाड जाने कृषिमार्गहरु अवरुद्ध भएका छन् । नवलपुरका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीका अनुसार बुलिङटार जाने पहाडी मार्ग ठाउँठाउँमा साना तथा ठूला पहिरोले अवरुद्ध भएका छन् ।

पूर्वी नवलपरासीको रहजरको बोटे टोलमा डुबानमा परेको छ । रहजर प्रहरीले उक्त क्षेत्रमा उद्दार गरेपछि अहिले स्थिति सामान्य रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक सुवेदीले बताए ।

नवलपरासीको बर्दघाट बरुवा सडकखण्ड अन्तर्गत खजुरी खोलामा बाढीले सडकको सतह बगाएपछि त्यस सडकखण्डमा सवारी आवागमन अवरुद्ध भएको छ ।

अहिले खजुरी खोलामा मोटरसाइकलसमेत चलाउन नमिल्ने गरी खोलाको सतह गहिरिएको छ ।

प्रतापपुरमा खोलाको बाँध फुट्दा सय घर डुवानमा

प्रतापपुर गाउँपालिका ३ मा धनेवा खोलाको बाँध फुटेर बाढी बस्तीमा पस्दा एक सय भन्दा बढी घर डुवानमा परेका छन् ।

धनेवा खोलामा पानीको सतह बढेर विहान १० बजे तिरको समयमा उत्तर पश्चिमको बाँध फुटेपछि अमहवा, नन्दपुर, धनेवा, बरगदवा लगायतका क्षेत्र डुवानमा परेको प्रतापपुर ३ का वडा अध्यक्ष दिवाकर चौधरीले जानकारी दिए ।

३ ठाउँमा पहिरो खस्दा नारायणगढ– मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि बिहान ५ः१० बजेदेखि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएकोमा पुनः बिहान ८ बजे ठुलो चट्टान खसेपछि दुई तर्फी नै बन्द भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार बिहान ती स्थानमा ठुलो पहिरो गएकाले बाटो अवरुद्ध भएको हो ।

पहिरो पन्छाउन थालिएको भए पनि पानी परिरहेकाले पन्छाउन कठिन भएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुई कालोपत्रे भएको भए पनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिम पूर्ण रहेको छ ।

काठमाडौंमा खोलाले बगाउँदा एकजनाको मृत्यु

काठमाडौंको धर्मस्थलीस्थित महादेव खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले खोलामा आएको बाढीले बगाउँदा तारकेश्वर नगरपालिका–६ का प्रकाश पुर्कुटीको मृत्यु भएको बताए । महादेव खालाले उनलाई धर्मस्थलीबाट बगाएको थियो ।

उनको शवलाई पोस्टमार्टमका लागि टिचिङ हस्पिटल, महाराजगञ्ज पठाइएको परिसरले जनाएको छ ।

तपाइको मत