३० साउन ०७४, काठमाडौं । गृह मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार अविरल वर्षापछि आएको पहिरो र डुवानमा परी मृत्यु हुने संख्या ६६ पुगिसकेको छ भने ५३ जना हराइरहेका छन् । साथै, अर्वौको भौतिक क्षति भएको छ ।
गत शुक्रबारदेखिको अविरल वर्षाका कारण तराईका अधिकांश जिल्ला डुबानमा परेको छ भने प्रभावित क्षेत्रमा आवास, कृषि बाली, सडक, विद्युत, टेलिफोन, उद्योगधन्दामा व्यापक क्षति पुगेको छ ।
यसैबीच प्रधानमन्त्रीले बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले बाढीको क्षति लगत संकलन भइरहेकाले अहिले नै क्षतिको बारेमा एकीन तथ्याङ्क भन्न नसकिने बताए ।
कृषि विकास मन्त्रालयका अनुसार बाढीका कारण प्रभावित क्षेत्र पूर्वाञ्चलमा मात्र १४ करोड रुपैयाँ बराबरको तरकारी, तीन करोड रुपैयाँ बराबरको माछा र करिब १२ करोड रुपैयाँको सञ्चित खाद्यान्न डुबानमा परेको छ ।
बाढीले पूर्व क्षेत्रका झापा, मोरङ, सुनसरी, सप्तरीलगायत जिल्लामा बढी क्षति पुगेको छ ।
मध्य तराईको पर्सामा २०/२० हजार हेक्टरको धान र तरकारी, बारामा ५६ हजार हेक्टरको धान, नौ हजार पाँच सय हेक्टरको तरकारी र पाँच सय हेक्टरमा पालिएका माछा डुबानमा परेका मन्त्रालयले जनाएको छ । यस्तै, धनुषामा २१ हजार हेक्टरमा रोपिएको धान, एक हजार सात सय हेक्टरमा लगाइएको रहर, आठ सय हेक्टरको माछा, डेढ सय हेक्टरको धान डुबानमा परेको छ ।
यसैगरी सडक पूर्वाधार र आयोजनामा पुगेको क्षतिले कतिपय स्थानमा यातायात अवरुद्ध छ ।
सडक विभागका अनुसार आइतबारसम्ममा पूर्व-पश्चिम राजमार्गका विभिन्न ठाउँमा पुल र सडक बगेका छन् । पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा पनि क्षति पुगेको छ । बाढी प्रभावित जिल्लामा ५० भन्दा बढी पुल भत्किएको छ ।
विद्युतमा दुई अर्ब रुपैयाँ बराबरको क्षति
विद्युत प्राधिकरणका अनुसार वर्षाका कारण दुई अर्ब रुपैयाँबराबरको क्षति पुगेको छ । वर्षासँगै आएको बाढी पहिरोले पूर्वाञ्चलका सबै जिल्लामा बिजुली आपूर्ति प्रभावित भएको छ । मध्य क्षेत्रका अधिकांश जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ ।
प्राधिकरणका अनुसार दमक-गोदक खण्डको एक सय ३२ केभी प्रसारण लाइनअन्तर्गत् इलामको चुलाचुलीस्थित टावर नम्बर १७ बाढीको कारण ढलेको छ । यस्तै, हेटौंडा सब-स्टेसनअन्तर्गत् हेटौंडा सिमेन्ट नजिक ६६ केभीको टावर ढल्न लागेकाले औद्योगिक फिडर सर्किट नम्बर १ र २ बन्द गरिएकोे छ ।
साथै, दुहवी, दमक र अनारमनीस्थित सब-स्टेसनहरु जलमग्न भएकाले २७ साउन बिहान साढे सात बजेबाट बन्द गरिएको छ । चन्द्रनिगाहापुर-पथलैया एक सय ३२ केभी सर्किट नम्बर २ पनि सोही रातिदेखि बन्द छ ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार ढल्केबर-चन्द्रनिगाहापुर एक सय ३२ केभी सर्किट नम्बर १ पनि २७ साउनदेखि बन्द भएको छ । बालाजु-त्रिशुली ६६ केभी सर्किट नम्बर १ र २ पनि सोही रातिदेखि सञ्चालनमा आउन सकेको छैन ।
बाढी पहिरोले बिजुलीका सब-स्टेसनमा क्षति पुग्दा विद्युत आयात पनि प्रभावित भएको छ । प्राधिकरणका अनुसार ढल्केबर-मुजफ्फरपुरबाट लिनुपर्ने एक सय मेगावाट बिजुलीमध्ये सात मेगावाटदेखि ३३ मेगावाट मात्र आयात भइरहेको छ । साथै, विहार र टनकपुरबाट हुने विद्युत आयात पनि बन्द गरिएको छ ।
धेरै सब-स्टेसन र फिडर बन्द अवस्थामा रहेकाले विद्युत गृहको उत्पादन क्षमताभन्दा निकै कम मात्र उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ ।
एक सय ४४ मेगावाटको कालीगण्डकी ‘ए’बाट एक सय मेगावाट मात्र उत्पादन भइरहेको छ । यस्तै, ७० मेगावाटको मध्यमर्स्याङ्दीबाट २५ र ६९ मेगावाटको मध्यमर्स्याङ्दीबाट ३२ मेगावाट मात्र विद्युत उत्पादन भइरहेको छ ।
बालाजु-त्रिशुली ६६ केभी सर्किट टि्रपिङ भएकाले चिलिमेबाट सात तथा त्रिशुली र देवीघाटबाट पाँच मेगावाट मात्र उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ ।