अविरल वर्षाले जलमग्न हुँदा बिद्यालयहरु बन्द

७ साउन, नेपालगन्ज । मध्यपश्चिमको प्रमुख शहर नेपालगञ्ज दुई दिनदेखिको अविरल वर्षाले जलमग्न हुँदा बिद्यालयहरु बन्द गरिएका छन् ।

Nepaljung

नेपालगन्जको सेतुविक चोक, गणेशपुर, बसपार्क, बेलासपुर, घरबारीटोल, मुक्तिपुर, धम्बोझी वाटरपार्कलगायतको ठाँउ जलमग्न भएको छ । बाढीले मानवीय क्षति भने भएको छैन ।

नेपालगन्जको सेतुविकचोक र न्यूरोडमा सडकमै दुई फिटसम्म पानी जमेको छ । सडकको पानी बढ्दै पसलमा पस्न थालेको छ । यसैगरी बसपार्क तथा गणेशपुरमा पानीको सतह बढ्दै गएर घरघरमा पसेको छ ।

घरबारीटोलका ५० बढी घरमा पानी पसेको छ । यसैगरी बेलासपुरमा ३०, मुक्तिपुरका ३०, गणेशपुर ३०, सल्यानी बंगलामा आसपासमा ३०, न्यूरोडका ३० बढी घरहरुमा पानी पसेको जानकारी आएको छ ।

घरमा पानी पसेको र पानीको बहावमा अवरोध आएको जनगुनासो आएपछि त्यसलाई हटाउन जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी पठाइएको बाँकेका प्रहरी प्रमुख एसपी टेकप्रसाद राईले जानकारी दिए ।

लगातारको पानीको कारण नेपालगन्जका अधिकांश विद्यालय तथा उच्च माध्यामिक विद्यालयहरु सञ्चालनमा आएका छैनन । विद्यालयको हाताभित्रै पानी भरिएपछि कक्षा अवरुद्ध भएको हो ।

यसैबीच बर्षातकै कारण राप्ती नदीमा पानीको सतह बढेपछि नदि आसपासका बासिन्दालाई सजगता अपनाउन आग्रह गरिएको छ ।

तपाइको मत