असोज २ को महासंग्राम काँग्रेसले जित्छ : मन्त्री मन्सुर

१७ साउन ०७४, राजविराज । श्रम तथा रोजगार मन्त्री एवम् काँग्रेसका केन्द्रीय सदस्य फरमुला मन्सुरले तेश्रो चरणको स्थानीय तहको निर्वाचनपछि काँग्रेस पहिलो राजनीतिक शक्ति बन्ने बताएका छन् ।

प्रदेश नं २ मा प्रचारात्मक अभियानको सिलसिलामा आइपुगेका मन्त्री मन्सुरले मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मधेशी जनता काँग्रेसका पक्षमा रहेको भन्दै निर्वाचनपछि काँग्रेस पहिलो शक्ति बन्ने दावी गरेका हुन ।

रोजगारी तथा मधेशको विकासलाई मुख्य एजेण्डा बनाएको कांग्रेसले तेश्रो चरणमा सबैलाई पछि पार्दै अग्रस्थानमा पुग्ने दावी गरे ।

“संघियता, समानुपातिक र संविधान संशोधन मधेशको माग हो” उनले भने, “यो माग कांग्रेसले मात्र सम्वोधन गर्न सक्ने भएकाले मधेशका जनताले कांग्रेसलाई नै पहिलो शक्ति बनाउने छन् ।”

एमालेप्रति निकै क्रुद्ध देखिएका उनले मधेशको समस्या समाधान गर्न एमाले प्रमुख बाधक रहेको भन्दै चुनावमा मधेशी जनताले जनमतमार्फत् एमालेलाई पाठ सिकाउने बताए ।

“संसदमा संशोधन प्रस्तावमाथि छलफलै गर्न नदिने, टेवुल गर्न नदिने तथा संसदै चल्न नदिने गरेर एमालेले मधेश र प्रजातन्त्र विरोधी गतिविधिलाई निरन्तरता दिइएका कारण मधेशको जनताले त्यसको जवाफ मतपत्रबाट दिने छन्” उनले भने ।

तपाइको मत