अहिलेको निर्वाचन प्रणाली महंगो भएकोले निर्वाचन प्रणाली बदल्नुपर्छ : ‘प्रचण्ड’

६ असाेज ०७४, काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालल ‘प्रचण्ड’ले  अहिलेको निर्वाचन प्रणाली महंगो भएको बताएका छन् ।

हेटौडामा शुक्रबार संचारकर्मीहरुसँग कुरा गर्दै  ‘प्रचण्ड’ले नेपालको अहिलेको  निर्वाचन प्रणाली महंगो भएको बताएका हुन् । उनले चुनावमा उम्मेदवारले तस्कर र दुई नम्बरी वा उसको सहयोगमा मात्र लड्ने सक्ने भएको भन्दै दाहालले यस्तो विचार राखेका हुन् ।

अध्यक्ष  दाहालले वर्तमान निर्वाचन प्रणाली खर्चिलो भएकाले सामान्य र मध्यम वर्गले चुनाव लड्नसक्ने अवस्था नभएको बताउँदै उनले पूजीपति वा दुई नम्बरीले मात्रै चुनाव लड्ने र लडाउने अवस्था रहेकाले  यो प्रणाली बढलेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिसहितको शासन व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्ने बताए ।
‘प्रचण्ड’ले  २ नम्बर प्रदेशको स्थानीय निर्वाचनमा आफ्नो प्रयासमा तराईका असन्तुष्ट पक्षको सहभागिता भएको र प्रारम्भिकरुपमा आएको निर्वाचनको परिणामले गौरव महसुस भएको बताए ।

अध्यक्ष दाहालले प्रदेश र संघीय निर्वाचनमा पनि माओवादीको उपस्थिति बलियो रहने दाबी गरे ।

दलमा मूल्य मान्यतामा आस्थावान तथा निष्ठावान् व्यक्तिले टिकट नपाई पैसावालाले पाए- पूर्वराष्ट्रपति डा. रामवरण यादव

पूर्वराष्ट्रपति डा रामवरण यादवले निर्वाचनमा लामो समयदेखि दलमा मूल्य मान्यतामा आस्थावान तथा निष्ठावान् व्यक्तिले टिकट नपाई क्रसर र डोजर उद्योगी तथा पैसावालाले पाएकामा चिन्ता व्यक्त गरेका छन् ।

सुशील कोइराला मेमोरियल फाउण्डेशनद्वारा संविधान दिवसका अवसरमा ‘स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वयन’ विषयक शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा यादवले उक्त धारणा राखेका हुन् ।

पूर्वराष्ट्रपति डा यादवले भने, ‘मैले सुनेँ स्थानीय तहका निर्वाचनमा वडाध्यक्ष हुनका लागि रु ५० लाख र गाउँ तथा नगरपालिका प्रमुख हुन रु एक करोडसम्म खर्च भयो, यस्तो अवस्था हो भने कसरी इमान्दार र निष्ठावान् व्यक्तिले निर्वाचन लड्न सक्छन् ।”

उनले स्थानीय निकाय र प्रदेश/प्रतिनिधि सभाका निर्वाचन सम्पन्नपछि मात्र संविधान कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे । उनले भने, ‘पछिल्लो स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलले भाग लिनु सकारात्मक हो, आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाका निर्वाचनमा पनि यस्तै सहभागिता रहने मैले विश्वास लिएको छु ।’

लोकतन्त्रलाई संस्थागत विकास गराउँदै जीवन्त बनाउन कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले एकअर्कालाई सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।

तपाइको मत