देवराम यादव/सप्तरी । सप्तरीको राजविराजस्थित सगरमाथा चौधरी आँखा अस्पताल शाखा कार्यालयलाई कोभिड–१९को सुरक्षित उपचार गर्न सहयोग पुग्ने पी.पी.ई सेट हस्तान्तरण गरेको छ ।
बुधबार नेपाल कम्युनिष्ट पार्टी प्रदेश न.२ का प्रदेश सदस्य महेश प्रसाद यादवले सगरमाथा चौधरी आँखा अस्पताल शाखा कार्यालय राजविराजलाई सो पी.पी.ई सेट हस्तान्तरण गरेका हुन् ।
राजविराज नगरपालिका वडा न. ९ का वडाध्यक्ष शम्भु प्रसाद यादव लालीले पीपी किट सेटबाट स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ बिरामीको उपचारमा मद्दत पुग्ने बताए ।
यसैगरी सगरमाथा चौधरी आँखा अस्पताल शाखा कार्यालय राजविराजका इन्चार्ज डा. राम कुमार झाले लकडाउनको बेला समेत दैनिक ७०/८० वटासम्म आखाँको बिरामीको उपचार भइरहेको बताउँदै सरुवा रोग कोरोनाबाट बच्न अस्पताललाई पीपी किट सेट हस्तान्तरण गरेकोमा धन्यवाद दिएका थिए ।
अग्नी पीडितलाइ राहत
कोरोना प्रकोप नियन्त्रणका लागि सरकारले गरेको रकम खर्च अपारदर्शी र भ्रष्टाचार भएको आरोप लागिरहेका बेला सप्तरीका एक समाजसेवीले विभिन्न प्रकोपबाट पीडितहरुलाई राहत बितरण गरेका छन् ।
छिन्नमस्ता गाउँपालिका ५ लालापट्टीका ई. सूर्य नारायण यादवले बुधबार आगलागीबाट सर्वस्व गुमाएका विष्णुपुर गाउँपालिका ७ स्थित पीडित परिवारलाई राहत स्वरुप त्रिपाल, झुल, लत्ताकपडा, भाडावर्तन र खाद्यान्न वितरण गरेका हुन् ।
गत जेठ १६ गते भएको आगलागीमा परेर बस्तीका ६ घर जलेर खरानी भई पीडितहरुको बिचल्ली भएको थियो ।