३० बैशाख ०७६, काठमाडौं । प्रदेश १ सरकारले गत चैत महिनामा बारा र पर्सामा आएको विनाशकारी आँधी पीडितका लागि एक करोड सहयोग उपलब्ध गराएको छ ।
सोमबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राई प्रदेश २ को अस्थायी मुकाम जनकपुरधाम आएर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई एक करोडको चेक हस्तान्तरण गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा राईले चेक हस्तान्तरण गर्दै आँधीले निम्त्याएको विपदमा आफ्नो प्रदेशले सानो सहयोग गरेर प्रदेश २ को विपतमा सबै एकजुट रहेको बताए ।
चेक बुझ्दै प्रदेश २ का मुख्यमन्त्री राउतले प्रदेश १ प्रति आभार प्रकट गर्दै मुलुक संघीयतामा गएपछि प्रदेश प्रदेश बीचको सहकार्य र सम्बन्धमा मजबुत बनाउने आधार प्रारम्भ भएको बताए ।
आँधी पीडितका लागि प्रदेश ३ सरकारले पनि एक करोड सहयोग उपलब्ध गराइसकेको छ भने अन्य प्रदेश सरकारले पनि सहयोग गर्ने निर्णय गरेका छन् ।
बारा पर्सामा चैत्र १८ गते आएको आँधीले २९ जनाको मृत्यु हुनुका साथै करोडौंको धनमालको क्षति भएको थियो ।













