आचारसंहिता लागू गर्दा टिप्पणी गर्न मिल्दैन – आयुक्त शाह

 

१९ भदाै ०७४, राजविराज । निर्वाचन आयुक्त सुधीर कुमार शाहले निर्वाचन आयोग स्वतन्त्र निकाय भएको भन्दै सरकार वा कुनै पनि नेताले काम कार्वाहीमाथि टिप्पणीको औचित्य नरहेको बताएका छन् ।

सप्तरीको सदरमुकाम राजविराजमा पत्रकार सँगको भेटमा शाहले यस्तो कुरा बताएका हुन् । निर्वाचन आचारसंहिता जारी पश्चात आयोगलाई फिर्ता लिन वा केही दिन स्थगित गर्न दवाब समेत आएको बताउँदै आयुक्त शाहले निर्वाचन आयोग संवैधानिक निकाय भएकोले आचारसंहिता जारी गर्ने जिम्मेवारी निर्वाचन आयोगकै रहेको भन्दै सरकारबाट यसबारे प्रश्न उठाउनु आवश्यक नरहेको  बताए ।

गत शनिवार राजविराजमा पत्रकार सम्मेलन आयोजना गरी उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले आचारसंहिता लागु गरेर आयोगले सरकारको हात खुट्टा बाँध्ने काम गरेको बताएको भोलिपल्टै शाहले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

आयुक्त शाहले निर्वाचन आचारसंहिता पालनासहित सफल निर्वाचनमा सञ्चारक्षेत्रको ठूलो भूमिका रहने भन्दै सहयोगको आग्रह समेत गरे । मतदान गर्दा कम भन्दा कम मत बदर होस् भन्ने आयोगको मनसाय रहेको भन्दै उनले मतदाता शिक्षामा दलहरुको पनि सहयोग आवश्यक रहेको बताए । राजनीतिक सहमतिका साथ प्रदेश सभा र प्रतिनीधिसभाको चुनावको मिति तोकिएकोले त्यो परिवर्तन नहुने उनले बताए ।

तपाइको मत