२८ भदौ ०७४, काठमाडौं । दशैंका लागि आजबाट सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । राष्ट्र बैंकमै गएर नोट साट्नेहरुले प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म साट्न सक्नेछन् ।
यस पटक सरकारी बैंकबाट समेत नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ । तर, सरकारी बैंकमा नोट साट्न जाँदा प्रत्तिव्यक्ति २० हजार रुपैयाँसम्म मात्रै नयाँ नोट साट्न पाइनेछ ।
नेपाल बैंकको बैंकिङ अफिस, न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर र भक्तपुर शाखाबाट नोट साट्न पाइनेछ ।
राष्ट्रिय वाणिज्य बैंकको मुख्य कार्यालयसहित टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट पनि नोट साट्ने व्यवस्था गरिएको छ ।
कृषि बिकास बैंकको मुख्य कार्यालय सहित कोटेश्वर, गौशला, रत्नपार्क र मंगलबजार शाखाबाट पनि नयाँ नोट साट्न पाइनेछ ।
निजी क्षेत्रका बैंकहरुबाट पनि नयाँ नोट साट्न पाइने भएको छ । यसका लागि राष्ट्र बैंकले निजी बैंकहरुलाई साढे ३ करोड देखि ११ करोड रुपैयाँसम्मका नयाँ नोट दिने भएको हो
बैंकहरुले ५, १०, २०, ५० र १ सय दरका नोट सटही सुविधा दिने भएका छन् । सरकारी निकाय लगायतकाले भदौं २१ गतेदेखि नोट साट्न सक्ने व्यवस्था गरेका थिए ।