आजदेखि सबै कार्यालयहरु स्वास्थ्य सुरक्षा अपनाएर खुल्दै

१ असार ०७७, काठमाडौं । सोमबारदेखि सबै कार्यालयहरु स्वास्थ्य सुरक्षा अपनाएर खुल्दैछ ।

सरकारले गत चैत्र ११ गतेदखि लागू गरेको बन्दाबन्दीसँगै बन्द रहेका सबै सरकारी तथा गैरसकारी कार्यालय आजदेखि खुल्ने भएको हो ।

मन्त्रिपरिषद्ले गत साता नै बन्दाबन्दीको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको थियो । सरकारले आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर कार्यालय खोल्ने तयारी गरिएको हो ।

सरकारले बिहान ८ बजेदेखि १ बजेसम्म एक सिफ्ट र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्ट गरी दुई सिफ्ट प्रणालीबाट कार्यालयहरु खुला गर्न लागेको हो । साथै, कार्यरत कूल कर्मचारीको ५० प्रतिशत कर्मचारी पहिलो सिफ्टमा र बाँकी कर्मचारीले दोस्रो सिफ्टमा कार्यालयबाट सेवा प्रवाह गर्ने गरी व्यवस्था गरिएको छ ।

संघीय मामिला तथा सामान्य मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले सरकारले बनाएको आवश्यक स्वास्थ्य मापदण्डको पालना गरेर सोमबारदेखि सबै सेवा सुचारू हुने बताए ।

सरकारले कोरोना भाइरस (कोभिड–१९)  संक्रमण रोकथाम र नियन्त्रणका लागि ०७६ चैत्रदेखि लागू गरेको बन्दाबन्दी ८३ दिनपछि स्वास्थ्य सुरक्षा मापदण्डसँगै केही खुकुलो हुने भएको छ ।