२७ बैशाख ०७८, काठमाडौं । मन्त्रिपरिषदले राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बैशाख ३० गते अर्को बैठक बोलाइसकेको अवस्थामा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो ।
मन्त्रिपरिषद बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । बैठकपछि काम चलाऊ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि प्रतिनिधिसभामा प्रस्तुत गरेको प्रस्ताव अस्वीकृत भएसँगै नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले संयुक्त विज्ञप्ति जारी गरेर राष्ट्रपतिसमक्ष नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।