आज उत्तर कोरिया जाँदै एमाले नेता माधव नेपाल

२७ साउन ०७४, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल आज उत्तर कोरियाको राजधानी प्योङयाङ जाँदैछन् ।

परराष्ट्र मन्त्रालयको आग्रहको बेवास्ता गर्दै नेता नेपाल ‘इन्टरनेसनल फेस्टिभल इन प्रेज अफ ग्रेटपर्सन्स अफ माउन्ट पिकेटु’ नामक कार्यक्रमको प्रमुख अतिथिका रुपमा सहभागी हुन उत्तर कोरिया जान लागेका हुन् । उक्त कार्यक्रममा विभिन्न मुलुकका प्रभावशाली नेताहरूको उपस्थिति रहनेछ ।

उत्तर कोरियाले अमेरिका, दक्षिण कोरिया र जापानमाथि धावा बोलिरहेका बेला संयुक्त राष्ट्रसंघको एक सदस्य मुलुक नेपालका पूर्वप्रधानमन्त्री समेत रहेका एमाले नेता नेपालको उत्तर कोरिया भ्रमण विवादास्पद बनेको छ ।

नेपालमा रहेका विभिन्न मुलुकका कूटनीतिज्ञले परराष्ट्र मन्त्रालयमार्फत भ्रमण समयानुकूल नभएको भन्दै नेता नेपाललाई उत्तर कोरिया भ्रमण रद्द गर्न आग्रह गरेका थिए ।

तर, नेता नेपालले ‘नेपाल र उत्तर कोरिया’बीच कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै पूर्वनिर्धारित कार्यक्रम भएकाले भ्रमण रद्द गर्ने मनस्थितिमा आफू नरहेको बताएका थिए ।

सांसदहरू हरिबोल गजुरेल, छाया शर्मा, एकनाथ ढकाल भने बिहीबार नै प्योङयाङतर्फ लागिसकेका छन् ।

स्रोतकाअनुसार नेपालले प्योङयाङमा हुने अन्तर्राष्ट्रिय कार्यक्रममा प्रमुख आतिथ्य स्वीकार गरेकोमा पश्चिमा मुलुकका कूटनीतिज्ञले परराष्ट्र मन्त्रालयका अधिकारीसँग असन्तुष्टि व्यक्त गरेका छन् ।

तपाइको मत