आज उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गरिँदै

२० चैत्र ०७९, काठमाडौं । आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिँदैछ ।

निर्वाचन आयोगले तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनका लागि सार्वजनिक गरेको कार्यक्रम अनुसार आज (चैत २० गते) उम्मेदवारी दर्ता हुने भएको हो ।

निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नागरिकता प्रकरणमा सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो ।