१४ भदौ ०८०, काठमाडौं । आज देशभरका नेवार समुदायले गाईजात्रा पर्व मनाएका छन् ।
नेवारी समुदायमा जनैपूर्णिमाको भोलिपल्ट गाइजात्रा मनाउने परम्परा रहिआएको भएपनि यसवर्ष आज र भोलि दुई दिन गाईजात्रा परेकाले भक्तपुरका नेवार समुदायले जनैपूर्णिमाकै दिन गाईजात्रा मनाएका छन् ।
गाईजात्रा पछिल्लो एक वर्षमा दिवंगत भएका परिवारका सदस्यको सम्झनामा मनाइने पर्व हो ।
आजै बिहान एक सन्देश जारी गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गाईजात्रा तथा जनैपूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा सुख, शान्ति, समृद्धि एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
प्राचीनकालदेखि नै नेपाल विभिन्न जातजाति, भाषाभाषी, सभ्यता र संस्कृतिको संगमको रूपमा रहिआएको भन्दै प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्, “गाईजात्रा र जनैपूर्णिमा (ऋषितर्पणी) पर्वले हामी सबै नेपालीहरूलाई राष्ट्र निर्माणको साझा भावनाद्वारा प्रेरित भई सामाजिक सद्भाव र एकतासहित पारिवारिक आत्मीयता, प्रेम र खुसी कायम गर्न सकोस्,सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”