३० असोज ०७५, काठमाडौं । आज देशभर हिन्दु नेपालीहरुले शक्ति पीठ र दशैं घरहरुमा धुमधामका साथ फूलपाती भित्र्याउँदै छन् ।
बिहानैदेखि शक्तिपीठहरुमा भक्तजनको घुईंचो लागेको छ । आजै गोरखाबाट ल्याइएको फूलपाती काठमाडौंको जमलसम्म ल्याई पर्सेर हनुमानढोकास्थित दशैँघरमा विधिपूर्वक भित्र्याइँदै छ ।
गोरखाबाट ल्याउने फूलपाती गोरखा दरबार दशैँघरका पुजारीसहित मगर जातिका ६ जनाले धादिङको जीवनपुरसम्म ल्याउने र जीवनपुरदेखि जमलसम्म काठमाडौंबाट गएका ब्राम्हण जातिका ६ जनाले ल्याउने परम्परा रहेको छ ।
फुलपाती (सप्तमी)का दिन दसैँघरमा फूलपाती भित्र्याउन गुरुज्युको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङ्गारिएका कल्स्यौडीहरू र साँस्कृतिक नाचगानसहितको लावालस्कर हनुमानढोकाबाट जमल जाने चलन रहिआएको छ ।
दशैं घटस्थापनाका दिनदेखि सुरु हुने भए पनि दशैँको विशेष चहलपहल चाहिँ फूलपातीकै दिनदेखि सुरु हुन्छ ।













