आज फूलपाती पर्व मनाइँदै

२६ असोज ०७८, काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज मनाइँदैछ ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने हिन्दु नेपालीहरुको मुख्य पर्व बडा दशैं अन्तर्गत फूलपाती पर्व घरघरमा शास्त्रीय विधिअनुसार फूलपाती भित्राएर मनाइएको हो ।

आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम बढेको छ ।

आज जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरु, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दशैं घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने प्रचलन छ ।