३ साउन, काठमाडौं । हिन्दू धर्माबलम्बी नारीहरुले आज साउन महिनाको पहिलो सोमबार भगवान शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ पूजा-आराधना गरी मनाउँदै छन् ।
साउनको पहिलो सोमबार बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गरिरहेका छन् । विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन ।
साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा-पोते लगाएर शिवको पूजा गर्दछन् । दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
यस पटकको साउन महिनामा पाँच वटा सोमवार परेको छ । पाँचवटा सोमबार परेको साउन महिना झन् शुभ र पवित्र मानिन्छ । यसैबीच सोमबारदेखि नै देशका विभिन्न भागमा बोलबम यात्रा सुरु भएको छ ।