आज ६७औं प्रजातन्त्र दिवस : टुँडिखेलमा औपचारिक कार्यक्रम

७ फागुन, काठमाडौं । २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले आज ६७औं प्रजातन्त्र दिवस औपचारिक कार्यक्रम गरी मनाएको छ ।

3

सरकारले हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा काठमाडौंको टुँडिखेलमा औपचारिक कार्यक्रम आयोजना गरी विशेष रुपमा यो दिवस मनाउँदै आइरहेको छ ।

शनिबार ६७ औं प्रजातन्त्र दिवसको अवसरमा टुडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । साथै, शान्तिको कामना गर्दै परेवा समेत उडाइएको थियो ।

प्रधानमन्त्री प्रचण्डले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै सहिदहरुको सपना साकार पार्न पनि संविधानसभाबाट बनेको संविधान कार्यान्वयन हुनैपर्ने बताएका छन् ।

प्रजातन्त्र स्थापनाका लागि ज्यानको आहुती दिने सहिदहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै उनले अब मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन सरकार प्रतिवद्ध रहेको बताए ।

जहानियाँ राणा शासनलाई जनआन्दोलनले जनतासमक्ष घुँडा टेक्न बाध्य बनाएर प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रजातन्त्र दिवस मनाउने परम्परा रहिआएको छ ।

एक सय चारवर्षे जहानियाँ राणा शासनको अन्त्य भएसँगै तत्कालीन राजा त्रिभुवनको घोषणापछि राजा, राणा र नेपाली काँग्रेस त्रिपक्षीय सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकाल सुरू भएको हाे ।

तपाइको मत