९ असार ०७४, काठमाडौं । राष्ट्रिय जनशक्ति पार्टीका महासचिव वृजेशकुमार गुप्ताले चुनाव बिथोल्ने गरी आन्दोलन हुन नसक्ने बताएका छन् ।
राजपाबाट उठेका स्वतन्त्र उम्मेदवारलाई आन्तरिक रुपमा सघाउन गृहजिल्ला कपिलवस्तुमा रहेका गुप्ताले जनताको मतदान अधिकार खोस्न नसकिने बताए ।
‘अस्ति उम्मदेवारी दर्ताको दिनसम्म जुन ढंगले बिथोल्न खोज्यौं । अब चुनावको दिन त्यस्तो अवस्था आउँदैन’ सांसद गुप्ताले भने, ‘आफ्नै कार्यकर्ता उम्मेदवार बनेका छन् भने चुनाव बिथोल्ने आन्दोलन कसरी हुन्छ ? म दोहोरो चरित्र देखाउन सक्दिन ।’
कपिलबस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद समेत रहेका गुप्ताले भने, ‘हामीमाथि गद्धारी भयो । सरकारले गर्यो कि आफ्नै पार्टीले गरेको त्यो त म भन्न सक्दिन तर हामी ‘शकमा’ छौं ।’
राजपाका कार्यकर्ताले कपिलवस्तु र रुपन्देहीमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । रुपन्देहीमा राजपा नेता सर्वेन्द्रनाथ शुक्ल सांसद छन् भने गुप्ता कपिलबस्तुका सांसद हुन् ।
शुक्ल र गुप्ताले चुनावमा भाग लिनुपर्छ भनेर पार्टीमा अन्तिम अवस्थासम्म लडाई लडेका थिए । तर, राजेन्द्र महतो लगायतका नेताको हठका कारण चुनाव बहिस्कारको निर्णय भएको भन्दै शुक्ल र गुप्ताले जिल्लामा कार्यकर्तालाई चुनाव लडाएका छन् ।