३१ जेठ ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएको जमिन गणतन्त्रले फिर्ता ल्याउने कार्य अघि बढाएको बताएका छन् ।
संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै नेकपा अध्यक्ष समेत रहेका संघीय सांसद प्रचण्डले यस्तो बताएका हुन् ।
“राजतन्त्रले गुमाएको जमिन गणतन्त्रले फिर्ता ल्याउँदैछ खबरदार,” उनले भनेका छन्, “नेपाली जनता कसैको भ्रमको पछि लाग्ने छैनन । धमिलो पानीमा माछा मार्ने हामी कसैले पनि प्रयास नगरौं । राष्ट्रिय मुद्दामा राष्ट्रियता, वीरता प्रदर्शन गरौ ।”
नेपालले जिम्मेवार पूर्ण भाषामा भारतलाई वार्ताको निम्ति अपलि गर्दागर्दै भारतले जमिन फिर्ता लिनको लागि, अगाडि बढ्न नकारात्मक रुपले चुनौति दिएपछि नेपालले आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेर आजको अवस्थामा आएको बताए ।
प्रचण्डले भनेका छन्:
“बरु उल्टै भारतको एकजना जिम्मेवार नेता र सरकार जिम्मेवार मन्त्रीबाट त्यही विवादित भनिएको भूमिबाट जाने गरी बाटो निर्माणको उद्घाटन भयो । त्यो पनि लकडाउनको बेलामा । वार्ताको बारेमा नेपालले प्रस्ताव अगाडि बढाइराखेकै थियो । त्यसको बारेमा सकारात्मक पहल तत्परता प्रदर्शन गर्नुको सट्टा झन् उल्टै त्यही भूमि छिरेर मानसरोबरसम्म जाने बाटोको उद्घाटन गरेर हामी सबैलाई अझ बढी उद्देलित तरङ्गित र आम नेपालीहरुको राष्ट्रिय भावनालाई त्यसले अलिअलि चुनौति दिए जस्तो महशुस भयो नै ।
प्रकारान्तरले नक्सा प्रकाशित गरेर, बाटो उद्घाटन गरेर भारतले हामी नेपालीहरुलाई एकताबद्ध हुन आफ्नो गुमेको जमिन फिर्ता लिनको लागि अगाडि बढ्न नकारात्मक रुपले जो चुनौति दियो म त्यसको लागि ती मन्त्रीहरु र नेताहरुलाई धन्यवाद भन्न चाहन्छु ।”
यद्यपि, नेपालले अहिले पनि राजनीतिक र कूटनीतिक संवादबाटै नेपाल–भारत सीमा विवाद हल गर्न चाहेको भन्दै संविधान संशोधन गरेर भारतसँग दुरी बढाउन नचाहेको प्रचण्डले प्रष्ट पारेका छन् ।