आयल निगमका कार्यकारी निर्देशक खड्का पदमुक्त

२ असोज ०७४, काठमाडौं । सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खड्कालाई अनियमितामा संलग्न भएको भन्दै पदबाट पदमुक्त गर्ने निर्णय गरेको हो । आपूर्तिमन्त्री शिवकुमार मण्डलले मन्त्रिपरिषदमा लगेको प्रस्तावका आधारमा खड्कालार्इ पदमुक्त गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री  मोहन बस्नेतले जानकारी दिए ।

खड्काले निगमका लागि जग्गा खरिद गर्दा अनियमिता गरेको निगमभित्र गुटबन्दी गरेको र सरकारलार्इ असहयोग गरेको मन्त्री मण्डलले लगेको प्रस्तावमा उल्लेख छ ।

यसअघि संसदअन्तर्गतका विभिन्न समितिहरुले पनि खड्का अनियमितामा संलग्न रहेको ठहर गर्दै पदबाट पदमुक्त गर्न सरकारलार्इ निर्देशन समेत दिएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि आपूर्ति मन्त्री मण्डललार्इ महानिर्देशक खड्कालार्इ पदमुक्त गर्ने गरी प्रस्ताव ल्याउन निर्देशन दिएका थिए ।

 

 

 

तपाइको मत