आयल निगममा सर्वसाधरण र व्यापारीलाई सहज प्रवेश, पत्रकारलाई कडाइ

३२ साउन ०७४, काठमाडौं । नेपाल आयल निगममा सर्वसाधरण र व्यापारी-व्यवसायीलाई सहज प्रवेश दिइए पनि पत्रकारलाई कडाई गरिएको छ ।

कार्यकारी निर्देशक ज्यूको कार्यालयबाट जारी सूचना उल्लेख गरिएको सूचना टाँस गरेर आयल निगमले पत्रकारलाई प्रवेश गर्न कडाइ गरेको हो ।

निगमले सातै प्रदेशमा विस्तार गर्न लागेको पेट्रोलियम भण्डारणका लागि जग्गा खरिदका सम्बन्धमा अनियमितता भएको समाचारहरू सार्वजनिक भएपछि निगम पत्रकारमाथि खनिएको हो ।

अहिले निगम छिर्न खोज्ने पत्रकारलाई दिउँसो २ बजेपछि मात्र अनुमति दिइएको छ । २ बजेभन्दा अघि निगम छिर्न खोज्ने पत्रकारलाई गेटपालेले मूलगेट बाहिरै राख्ने गरेका छन् ।

अन्य काम लिएर निगम छिर्न चाहे पनि पत्रकारले २ बजेभन्दा अघि प्रवेश गर्न नदिने आदेश निगमका कार्यकारी निर्देशक खड्काले गेटपालेलाई दिएका छन् ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले पत्रकारलाई २ बजेभन्दा अघि प्रवेश निषेध गरिएको बारे आफूलाई जानकारी नभएको बताए ।

जग्गा खरिदका सम्बन्धमा अनियमितता भएको पुष्टि व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले गरिसकेको छ । उक्त विषयमा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।

तपाइको मत