२८ भदौ ०७५, राजविराज । आर्थिक अवस्था कमजोर भएकालाई रकम सापटी दिने प्रलोभन देखाई भारत पु¥याई वन्धक बनाएर फिरौती रकम असुल गर्ने १ जना पेशेवरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
आर्थिक प्रलोभन देखाएर आधा दर्जन घटनावाट लाखौ रकम फिरौती असुल गरिसकेका महोत्तरीको साँढा गाउँपालिका २ का ५५ वर्षिय विन्देश्वर साहलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
प्रहरी उपरिक्षक राजेन्द्र विष्टका अनुसार राजविराज नगरपालिका २ निवासी राजकुमार यादवले दिएको उजुरीका आधारमा सुक्ष्म अनुसन्धान गर्दै जाँदा साह पक्राउ परेका हुन् ।
घटना विवरण अनुसार राजकुमारसँग सामान्य चिनजान रहेका विन्देश्वरले गत वैशाख १० गते राजकुमारलाई ‘तपाईको छोरीको विहे छ, पैसाको अभाव भए पट्ना हिड म १५ दिनका लागि आवश्यक रकम सापटि दिन्छु’ भन्दै प्रलोभन देखाएका थिए । राजकुमारलाई छोरीको विवाहका लागि पैसा आवश्यक रहेकाले उनले नाताले भाई पर्ने राम चरित्र यादवलाई सोहि दिन विन्देश्वरसँग पटना पठाएका थिए । तर पटनाका लागि भनेर हिडेका रामचरित्रलाई विन्देश्वरलेबिच बाटो मुजप्फरपुरमै बसवाट जवरजस्ति ओरालेर रेल मार्फत मोतिहारी पु¥याएर होटलमा लगि बन्धक वनाएर राखेका थिए ।
विन्देश्वरसँगै रहेका नाम नखुलेका अन्य तीन चार जना मिलेर रामचरित्रलाई होटलको एउटा कोठामा बन्धक बनाएपछि त्यहिबाट भारतीय मोवाईल नम्वरको प्रयोग गरी राजकुमारई १० लाख भारतीय रुपैयाँ फिरौती नदिए रामचरित्रको हत्या गर्ने धम्कि दिएका थिए ।
छोरीको विवाहका लागि पैसा जोहो गर्न पठाएको ब्यक्ति अपहरणमा परेको सुनेपछि राजकुमार छाँगावाट खसेजस्तै भए । उनले अपहरणकारीले माग गरेको रकममा मोलमोलाई गरी अपहरणकारीले भनेकै अनुसार वैशाख १२ गते विरगन्ज स्थित प्रभु विकास वैंकमा ९ लाख ६० हजार नेपाली रुपैँया नरेशप्रसाद साहका नाममा रहेको खातामा जम्मा गरिदिए । वैंकमा जम्मा गरिएको सो रकम भोलीपल्टै वैशाख १३ गते विन्देश्वर साहले झिकेर लगेका थिए ।
भारतीय प्रहरी र बैंक रहेको पर्सा प्रहरीसँग सम्पर्कमै रहेका बेला विन्देश्वर अचानक विरगन्जमा देखा परेपछि उनलाई सोहि स्थानमा घेरा हालेर पक्राउ गरिएको एसपी विष्टको भनाई छ । पक्राउ परेका साहसँग भारतीय आधार कार्ड र जिल्ला वन कार्यालय सर्लाहीमा रेन्जर पदमा कार्यरत रहेको नक्कली परिचय पत्र समेत फेला परेको प्रहरी उपरिक्षक विष्टले बताए ।