इटहरीको मार्बल दोकानमा भीषण आगलागी, सात करोड बढी क्षति

३० असार ०७४, काठमाडौं ।  इटहरी उपमहानगरपालिका–६ को मुख्य बजार क्षेत्रमा गएराति १२ः३० बजेपछि भएको भीषण आगलागीमा करिब रु साढे ६ करोड नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ मा युवराज कार्कीले सञ्चालन गरेको मार्बल टायल र सेनिटरीका सामग्री रहेको दोकानमा विद्युतको मेन स्विच सर्ट भएर आगलागी भएको हो ।

दोकानमा आगलागी हुँदा  दोकानका सबै सामग्रीसहित अन्य सामग्रीसमेत जलेर ध्वस्त हुँदा करिव रु साढे ६ करोडभन्दा बढीको नोक्सानी भएको अनुमान गरिएको छ ।

कार्कीले सञ्चालन गरेको मार्बल टायलको दोकानसँगै रहेको विराट आयुर्वेदको पतञ्जलिको आयुर्वेद औषधि, खाद्यान्न सामग्री र दैनिक उपभोग्य वस्तुसमेत नष्ट हुँदा करिब रु ६० लाखभन्दा बढीको नोक्सानी भएको सञ्चालक योगेन खड्काले जानकारी दिए ।

दोकान घरमा मानिस नबस्ने र दोकान घरको सुरक्षार्थ रहेका कर्मचारी घर बाहिरै रहने गरेकाले आगलागी हुनासाथ तत्काल बारुणयन्त्र, प्रहरी र स्थानीयवासीलाई हल्ला गरेर उठाएका कारण मानवीय नोक्सानी भने नभएको बताइएको छ ।

आगलागीमा इटहरी, धरान, विराटनगर र इनरुवाबाट आएका बारुणयन्त्र, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयवासीको सक्रियतामा आज बिहान ४ बजेतिर आगो नियन्त्रणमा लिने सफलता मिलेको मार्बल व्यवसायी युवराज कार्कीले जानकारी दिए ।

आगलागीमा भएको नोक्सानीका विषयमा प्रहरीले प्रारम्भिक नोक्सानीको आँकडा लिने कार्य गरिरहेकाले आगलागीको वास्तविक नोक्सानीको विवरण आउन समय लाग्ने बताइएको छ । पेट्रोल पम्पसँगैको घरमा लागेको आगोलाई सावधानीपूर्वक नियन्त्रणमा लिने सफलताले इटहरीमा हुनसक्ने सम्भावित ठूलो दुर्घटनाबाट जोगिन पुगेको प्रहरीको भनाइ रहेको छ ।

तपाइको मत