यातायात मन्त्रीले सुरु गरे इम्बोस्ड नम्बर प्लेट जडान कार्य
५ भदौ ०७४, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायतले इम्बोस्ड नम्बर प्लेट जडान कार्य सुरु गरेका छन् ।
सोमबार यातायात व्यवस्था विभागको प्रांगणमा भएको कार्यक्रममा मन्त्री बलायतले नम्बर प्लेट जडान कार्य सुरु गरेका हुन् ।
विभागले पहिलो चरणमा बाग्मती अञ्चल यातायातमा दर्ता भएका सरकारी र निजी चारपांग्रे सवारी साधनमा समयतालिका निकालेर इम्बोस्ड नम्बर प्लेट जडान गर्ने भएको छ ।
तीनमहिनापछि बाग्मती अञ्चलमा दर्ता भएका मोटरसाइकलमा इम्बोस्ड नम्बर जडान प्रक्रिया अघि बढाइने विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए ।
इम्बोस्ड नम्बर प्लेट जडान गर्न २५ सयदेखि ३६ सय रुपैयाँ
इम्बोस्ड नम्बर प्लेट जडान गर्न मोटरसाइकलका लागि २५ सय रुपैयाँ तोकिएको छ ।
यसैगरी तीन पांग्रे सवारीका लागि २९ सय, चारपांग्रे सवारीका लागि ३२ सय र हेभी सवारीको हकमा ३६ सय रुपैयाँ तोकिएको छ ।
सवारीधनीले राष्ट्रिय वाणिज्य बैंकको खातामा दाखिल गर्नुपर्छ ।
उपभोक्ताले अनलाइनमा विभागले उपलब्ध गराएको फारममा आफूले प्रयोग गरेको सवारी र आफ्नो विवरण घरबाटै अनलाइनमार्फत् भर्न सक्नेछन् ।
विवरण पेस गर्दा राष्ट्रिय वाणिज्य बैंकमा तिरेको शुल्कको भौचर नम्बरसमेत राख्नुपर्छ ।
सवारीधनीको विवरण विभागले इम्बोस्ड नम्बर उत्पादक डेकाटुर टाइगर पठाउनेछ । विभागबाट आएको विवरणअनुसार नम्बर प्लेटमा रहेको आरएफआईडी चिप्ससहितको स्टिकरमा सम्पूर्ण विवरण राखेर कम्पनीले विभागमा पठाउनेछ ।
त्यसपछि विभागले सम्बन्धित यातायात कार्यालयमा नम्बर प्लेट पठाउनेछ । कार्यालयले सवारीधनीलाई एसएमएस पठाएर नम्बर जडान गर्न बोलाउँछ ।
इम्बोस्ड नम्बर प्लेटको फाइदा : सवारी प्रयोग गरी हुने आपराधिक घटना शूल्य
सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएपछि कुन सवारी कुन ठाउँमा गइरहेको छ । कहाँबाट कुन सवारी उपत्यका छिरेको छ । कसले प्रयोग गरिरहेको छ । कसको सवारी हो सबै विवरण विभागका कर्मचारी तथा ट्राफिक प्रहरीले सहजै थाहा पाउन सक्नेछन् ।
यो नम्बर प्लेट जडान भएपछि सवारीसाधनले राज्यलाई तिर्नुपर्ने कर दाखिला गरे/नगरेको थाहा हुने र चोरीका सवारीसाधन प्रयोग अन्त्य हुने भट्टराईको भनाइ छ । सवारी प्रयोग गरी हुने आपराधिक घटना शूल्य हुनेछ ।
सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट प्रयोग गरिसकेपछि पुनः पाँचदेखि १० वर्षसम्म परिवर्तन गर्नु नपर्ने र परिवर्तन गर्न परे प्लेट कसेको लक नै काट्नु पर्ने अवस्था आउँछ’, उनले भने, ‘सवारीसाधन दुर्घटनामा परेर टुटफुट भए मात्र प्लेट परिर्वतन गर्नुपर्ने हुन्छ ।’