उद्घाटन खेल: आयोजक वाइसिएल म्याग्दे ५ सँग पराजित

७ पुस ०८०, तनहुँ । नेकपा (माओवादी केन्द्र)को भातृसंगठन वाइसिएल नेपाल म्याग्दे गाउँ समितिले पालिकास्तरीय भलिबल प्रतियोगिता कार्यक्रम आयोजना गरेको छ ।

वाइसिएल नेपाल म्याग्दे समितिले पार्टीको ‘जनतासँग माओवादी: विशेष रुपान्तरण अभियान’अन्तर्गत रचनात्मक कार्यक्रमका रुपमा पुस ७ देखि ९ गतेसम्म भलिबल प्रतियोगिता आयोजना गरेको हो ।

वाइसिएल म्याग्देका अध्यक्ष हर्कबहादुर रानाले दिएको जानकारीअनुसार शनिबार पुस ७ गतेदेखि ९ गतेसम्म पालिकास्तरीय र अन्तरपालिका खेलमा प्रथम हुने टिमलाई ५१ हजार नगदसहित ट्रफी मेडल, द्वितीय हुनेलाई ट्रफीसहित ३० हजार पुरस्कार राशी तय गरिएको छ ।

आज शनिबार उद्घाटन भएको पहिलो खेलमा आयोजक टिमलाई म्याग्दे वडा नं. ५ ले २५–२२ र २५–१९ को अन्तरमा पराजित गरेको वाईसिएल म्याग्देका सचिव अशोक खातीले बताए ।

यस्तै सचिव खातीले दोस्रो खेलको पहिलो सेट समाज सुधारले ध्यान्थोकलाई २५–२३, दोस्रो सेट ध्यानथोकले समाज सुधारलाई २७–२५ र तेस्रो सेट समाज सुधार टिमले ध्यानथोकलाई २६–२४ को अन्तरमा जित निकालेर अन्नतः समाज सुधार टिमले दुईसेट हात पारेर बिजयी भएको बताए ।

प्रथम म्याग्दे पालिका तथा अन्तरपालिकास्तरीय पुरुष भलिबल खेलको उद्घाटन नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार एवम् प्रमुख अतिथि इन्द्रबहादुर अधिकारी गरेका थिए भने पार्टीका तनहुँ संयोजक मदन आले, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष एसबी थापामगर, वाईसिएल केन्द्रीय विभाग सदस्य विकास नेपाली, वाइसिएल गण्डकीका संयोजक शरण सापकोटा, सहसंयोजक इश्वर बस्याल, म्याग्दे गाउँपालिकाका अध्यक्ष बालकृष्ण श्रेष्ठ, उपाध्यक्ष होम आले, सचिव सुकराम विक, कोषाध्यक्ष राजन नेपाली लगायतको आतिथ्य रहेको थियो ।