उद्दारको पर्खाइमा बसेका चार जनालाई बगायो नख्खुको बाढीले

१२ असोज ०८१, ललितपुर । ललितपुर महानगरपालिका १४ नम्बर वडास्थित कान्तिपुर कोलोनी नजिकै जस्ताको टहरोमा बस्दै आएका नख्खु खोलामा आएको बाढीमा फसेका, उद्दारको पर्खाइमा बसेका चार जनालाई बाढीले बगाएको छ ।

बिहान करिब ८ बजेतिर जस्ताको टहरामाथि चढेर उद्दारको पर्खाइमा बसेका उनीहरुलाई सरकारी उद्दारको ढिलाईले गर्दा बाढीले बगाएको हो ।

प्रत्यक्षदर्शी जीवन पोखरेलले दिएको जानकारी अनुसार उनले नजिकको प्रशासनमा समयमै जानकारी गराएका थिए । तर, उद्दारमा ढिलाई हुँदा टहराको छतमा रहेका चारैजनालाई बाढीले बगाएको हो ।

पोखरेलले भने, ‘मैले सातदोबाटोका डीएसपी, महानगरपालिका साथै निकायमा पनि खबर गरेको थिएँ तर ४५ मिनेटपछि दुई जना प्रहरी आए । कम्तीमा लाइफ ज्याकेट लिएर आएको भए चारैजनालाई बचाउन सकिने अवस्था थियो, तर बचाउन सकिएन ।’

दुई जना प्रहरी टहरा भएको स्थल नजिकै आएपछि आफूले घरबाट लुगा सुकाउने डोरी ल्याएर दिएको बताउँदै उनले भने, क्रेटमा बाँधेर डोरी पठाउनुभयो तर, चारैजना बसेकोपट्टीकै जस्ता खसेपछि चारैजनालाई नख्खुले बगायो ।’

बाढीले बगाएर बेपत्ता हुनेमा एक महिला, दुई पुरुष र एक जना बच्चा छन् । उनीहरुको खोजी हेलिकप्टरबाट पनि भइरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।