ललितपुर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले बन्द उद्योग सञ्चालन गर्न र औधोगिक क्षेत्रमा कार्यरत मजदुरहरुका समस्या हल गर्न उचित कदम चाल्ने बताएका छन् ।
गोरखकाली रबर उद्योगमा कार्यरत मजदुरको समस्या हल गर्न भएको छलफलका क्रममा मन्त्री यादवले बन्द उद्योग सञ्चालन र श्रमिकका समस्याहरुलाई हल गर्ने बताएका हुन् ।
अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष गणेश रेग्मीले दिएको जानकारीअनुसार छलफल क्रममा मन्त्री यादवले बन्द उद्योग सञ्चालन गर्न र नयाँ व्यवस्थित तरिकाले बन्द उद्योग सञ्चालन गर्न उचित कदम चाल्ने बताएका छन् ।
‘बन्द उद्योग सञ्चालन गर्न मजदुरले शेयर हाल्ने गरी मन्त्रालयले आन्तरिक तयारी थालेको छ,’ मन्त्री यादवको भनाई उदृत गर्दै अध्यक्ष रेग्मीले भने ।
मन्त्री यादवले गोरखकाली रबर उद्योगमा कार्यरत विगत ३० महिनादेखि तलब नपाएका सबै श्रमिकहरुलाई राज्यले तलब उपलब्ध गराउने आश्वासन दिएको अध्यक्ष रेग्मीले जानकारी गराए ।
गोरखकाली रबर उद्योगबाट उत्पादित टायर सरकारी निकायले मात्रै प्रयोग गर्ने हो भने पनि उद्योग सञ्चालन हुने साथै सयौं बेरोजगारले रोजगारी पाउने र राष्ट्रिय अर्थतन्त्रलाई समेत बलियो बनाउने भन्दै महासंघका केन्द्रीय अध्यक्ष रेग्मीले उद्योग सञ्चालन गर्न मन्त्री यादवको ध्यानाकर्षण गराइएको बताए ।
नेपालको एकमात्र टायर उद्योग पूर्णरुपमा बन्द
नेपालको एकमात्र टायर उद्योग गोरखकाली रबर उद्योग २०७२ फागुनदेखि पूर्णरुपमा बन्द रहेको छ ।
२०४१ सालमा स्थापना भएको गोरखकाली रबर उद्योग कुनैबेलाको निकै लोकप्रिय ब्राण्ड थियो ।
पूर्वउद्योगमन्त्री नविन्द्रराज जोशीले गोरखकाली रबर उद्योगलाई बन्द भएको २ वर्षपछि पुनः चलाउने तयारी गरेको भएपनि सरकार परिवर्तनले गर्दा उद्योग सञ्चालन हुन सकेन तर अहिले पनि उनको योजना मन्त्रालयमा छन् ।
नेपालमा वर्षमा ५ अर्ब रुपैयाँभन्दा बढी रकमको टायर कारोबार हुन्छ तर सबै टायर विदेशबाट खरिद गरिन्छ । नेपालमा अहिले भारतदेखि ब्राजिलमा निर्माण भएका टायरहरु आउने गर्छ । मुख्यरुपमा भारतीय कम्पनीको टायरको बजार बढिरहेको छ ।
२०७२ सालको फागुनदेखि पूर्णरुपमा बन्द गोरखकाली रबर उद्योगमा कार्यरत २ सय ३८ जना कर्मचारी बेरोजगार भएका छन भने उनीहरुले काम नगरेपनि करिब एक अर्ब रुपैयाँ तलब वापत दिनुपर्ने राज्यको दायित्व बनेको छ ।
कुनैबेला भारत र बंगलादेशसम्म टायर निर्यात गर्न सक्ने गोरखकाली रबर उद्योग सरकारी लगानीमा खोलिएको भए पनि जनताबाट उठाएको रकम डुबाउने कम्पनीमा पर्छ ।
अर्बौंको बजार सम्भावना
नेपालमा बढ्दो सहरीकरणका कारण गाडी चढ्नेहरुको संख्या र गाडीको कारोबार दिनानुदिन बढेको बढ्यै छ । गाडीको कारोबार बढेसँगै टायरको व्यापार स्वभाविक रुपले बढेको छ ।
पछिल्लो तथ्याङ्कअनुसार नेपालमा वार्षिक रुपमा टायर मात्रै करिब ६ अर्ब रुपैयाँको आयात भएको देखिन्छ भने गाडीको पार्टपुर्जा खरिदमा अर्बौं रुपैयाँ देश बाहिर गइरहको छ ।
सरोकारवाला मन्त्रालय र सरकारले बन्द गोरखकाली रबर उद्योग मात्रै सञ्चालन गर्ने हो भने पनि नेपालमै अर्बौं रुपैयाँको बजार सम्भावना रहेको देखिन्छ ।