१७ माघ ०७५, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले उद्योग-धन्दाको विकास नगरी देश विकास सम्भव नभएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले विगतमा जे भए पनि पछिल्लो समय सरकारको ध्यान उद्योगीलाई दुःख दिने नभई उद्योगको विकास गर्ने कुरामा लक्षित रहेको बताए ।
उद्योगको विकास नगरी देश विकास सम्भव नभएकाले गडबड गर्ने र कानून मिच्ने उद्योगीसँग सरकारले सहकार्य नगर्ने बताउँदै उनले भने, ‘सरकारलाई कानूनको डण्डा चलाउने मौका नदिनुहोस् ।’
खानी तथा भूगर्भ विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र नेपाल सिमेन्ट उद्योग संघको आयोजनामा आयोजित कार्यक्रममा मन्त्री यादवले कानून मिच्नेलाई व्यावसायिक संगठनले नै कारवाही गर्न पनि सुझाए ।