१३ असार ०७४, काठमाडौं । यातायात व्यवस्था विभागले पहिलोपटक उपत्यकाबाहिर पनि स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु गरेको छ ।
स्मार्ट लाइसेन्सको वितरण थालेको झण्डै २ वर्षपछि सोमबार अञ्चल यातायात कार्यालय पोखरा मंगलबार बाग्लुङबाट उपत्यका बाहिर पनि स्मार्ट लाइसेन्स वितरण सुरु भएको हो ।
विभागले असार एक-दुई दिनमै जनकपुर र वीरगञ्जबाट पनि स्मार्ट लाइसेन्स वितरणको प्रक्रिया थाल्ने महानिर्देशक रुपनारायण भट्टराईले बताए ।
आगामी साउनको अन्तिमसम्म सबैै अञ्चल यातायात ब्यवस्था कार्यालयमा स्मार्ट लाइसेन्स वितरणको लागि तयारी सक्ने विभागका महानिर्देशक भट्टराईले जानकारी दिए ।
विभागले सबै यातायात कार्यालयमा स्मार्ट लाइसेन्सका लागि कम्प्युटरसहित सबै हार्डवेयरहरु जडान गरिसकेको छ । विभिन्न कार्यालयमा स्मार्ट लाइसेन्सको सफ्टेवर जडानका लागि मद्रास सेक्युरेटी पि्रन्टर्सको टोली नेपालमा छ । उनीहरु लाइसेन्सको सर्भर व्यवस्थापन गर्ने काममा विभागको प्राविधिक टोलीसँगैकाम गरिरहेका छन् ।
‘पोखरापछि यो सेवा अन्य क्षेत्रमा गर्न धेरै ढिलाइ गरिने छैन,’ महानिर्देशक भट्टराईले भने, ‘अब स्मार्ट लाइसेन्स उपत्यकाबाहिर पनि बाँड्नैपर्छ । पुरानो प्रविधिको विस्थापनमा हामी अग्रसर छौं ।’
विभागले २०७२ को गत मंसिर महिनादेखि काठमाडौंमा स्मार्ट लाइसेन्स वितरण सुरु गरेको थियो ।