३ असोज ०७४, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले संविधान दिवसको अवसरमा एक सन्देशमार्फत् देश-विदेशमा रहेका नेपालीहरुमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
उपराष्ट्रपति नन्दबहादुर पुनले मंगलबार शुभकामना सन्देशमार्फत् विभिन्न कालखण्डका जनआन्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध र २०६२-०६३ को ऐतिहासिक जनआन्दोलनका उपलब्धिहरु संस्थागत भएको स्वर्णिम दिन (संविधान दिवस)को अवसरमा देश-विदेशमा रहेका नेपालीहरुमा बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।
‘संविधान सभाबाट संविधान जारी भएको दुई वर्ष पूरा भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत विभिन्न कालखण्डका जनआन्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध र २०६२-०६३ को ऐतिहासिक जनआन्दोलनका उपलब्धीहरु संस्थागत भएको स्वर्णिम दिन संविधान दिवसको अवसरमा देश–विदेशमा रहनुभएका नेपाली दिदी–बहिनी तथा दाजुभाईहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु’ उपराष्ट्रपति नन्दबहादुर पुनले जारी गरेको सन्देशमा उल्लेख छ ।
संविधान जारी भएको दुईवर्षको अवधिमा यसको उत्साहजनक कार्यान्वयन भइरहेको भन्दै उनले स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको साथै प्रदेश र संघको निर्वाचन घोषणा भइसकेकाले माघ ७ गतेभित्र संविधानको पूर्ण कार्यान्वयन हुने सुनिश्चित भएको बताएका छन् ।
उपराष्ट्रपति शुभकामना सन्देशमा भनिएको छ, ‘संविधान कार्यान्वयनका प्रमुख पक्ष स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ भने प्रदेश र संघको निर्वाचन घोषणा भइसकेको छ । संविधान दिवसको पूर्व सन्ध्यामा प्रदेश नं. २ मा उत्सवको रुपमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भाग लिई आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्नुहुने दिदी–बहिनी तथा दाजुभाईहरुमा बधाई ज्ञापन गर्न चाहन्छु । हाम्रो संवैधानिक व्यवस्थाभित्रै प्रदेश र संघको निर्वाचन सम्पन्न भई आउँदो माघ ७ गतेभित्र संविधानको पूर्ण कार्यान्वयन हुने सुनिश्चित भएको छ । हाम्रो लागि यो खुशी र गौरवको कुरा हो ।’
उपराष्ट्रपति पुनले समय परिस्थितिअनुसार संविधान समृद्ध बन्दै जाने साथै निर्धारित समयभित्र संविधानको पूर्ण कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरणसहितको समृद्ध राष्ट्र निर्माण र बलियो राष्ट्रिय एकताको लागि सहमति, सहयोग र सहकार्यको बाटोमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।